Kath khabar
सौर्य एयरलाइन्सका विमान चालक शाक्यको स्वास्थ्यमा सुधार


                   काठमाडौं, साउन ११ । काठमाडौं मेडिकल कलेजमा उपचाररत रहनुभएका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ ।

कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताउनुभयो । उहाँले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताउनुभयो । “ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उहाँले भन्नुभयो, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।”

यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते हुनुभएको थियो । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।


‘सहकर्मी गुमाउँदा अत्यन्त मर्माहत’
सौर्य एयरलाइन्स प्रालिले स्थापनाकालदेखि परिवारको रुपमा काम गर्दै आएका मित्र एवम् सहयोगीहरुको विमान दुर्घटनामा निधन भएकोप्रति मर्माहत र भावविह्वल भएको जनाएको छ ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले आज विज्ञप्ति जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउने प्रतिष्ठित तथा विज्ञहरुको क्षतिबाट कम्पनीले मात्रै नभई परिवार, समाज र राष्ट्रसमेतले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै यस दुःखद् घडीमा शोक सन्तप्त परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गर्नुभएको छ ।

पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैँ रहने एयरलाइन्सले विज्ञप्तिमार्फत् जनाएको छ । “सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठापूर्वक पु-याउनुभएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

कम्पनीले विमान दुर्घटनामा परी बाँच्न सफल क्याप्टेन मनीषरत्न शाक्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार चालकदलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्युभएको थियो ।

सो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल हुनुभएको छ । दुर्घटनाका घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा ल्याई सघन उपचार कक्षमा उपचार गरिएको थियो । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
---

 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update