भजनी (कैलाली), १२ साउन | कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त हुनुभयो । उहाँले सेवानिवृत्त भएपछि राज्यबाट पाउने निवृत्तिभरण पाइरहनुभएको छ । चालू आर्थिक वर्षबाट निवृत्तिभरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उहाँको पुरानो नागरिकताले काम नगर्दा नयाँ बनाउनुपर्ने भयो ।
विसं २०३४ मा जिल्ला प्रशासन कार्यालय अछामबाट जारी भएको नागरिकताको प्रतिलिपि उहाँले लिन पाउनुभएन । सशस्त्र द्वन्द्वका समयमा अछाम जिल्ला प्रशासन कार्यालयमा भएका सबै विवरण नष्ट भएका कारण तिमिल्सिनाको पुरानो अभिलेख भेटिएन । पुरानो अभिलेख नभेटेपछि उहाँले नयाँ नागरिकता बनाउनुको विकल्प रहेन ।
“नागरिकता पुरानो भए पनि सबै कुरा प्रष्ट देखिन्छ । त्यो नागरिकताले राष्ट्रिय परिचयपत्र बन्दैन”, उहाँ भन्नुहुन्छ, “प्रतिलिपिका लागि पुरानो अभिलेख छैन । नयाँ बनाउँदा आजसम्म पेस भएका निकायमा नयाँ नागरिकता लिएर विवरण सच्याउँदै जानुपर्ने हो कि भन्ने चिन्ता छ ।”
यो समस्या तिमिल्सिनाको मात्रै होइन । सशस्त्र द्वन्द्वका समयमा जिल्ला प्रशासन कार्यालय अछाममा अभिलेखका लागि राखिएका सबै कागजात नष्ट भएका कारण कैयौँलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय अछाममा २०५८ साल अगाडिको कुनै अभिलेख छैन । विसं २०५८ अगाडि नेपाली नागरिकता लिएकाले अहिले प्रतिलिपि नलिएर नयाँ नागरिकता लिनुपर्ने भएको छ । नागरिकता हुँदाहुँदै राष्ट्रिय परिचयपत्रका लागि नयाँ नागरिकता बनाउनुपर्ने बाध्यताले कैयौँले दुःख पाएका छन् ।
टीकापुरकै पार्वती उपाध्याय उमेरले ९० पुग्नुभयो । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएपछि नयाँ नागरिकता लिनुपर्ने बाध्यता उहाँलाई आइलागेको छ । “पुरानो नागरिकता हुँदाहुँदै नयाँ बनाउन प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता छ”, उहाँ भन्नुहुन्छ, “पुरानो आधार नभएकाका लागि नयाँ नागरिकता आवश्यक भए पनि भएकाको त्यसैबाट काम हुँदा मजस्ता कैयौँले दुःख पाउने थिएनन ।”
सरकारले मातहतका कार्यालयमा अभिलेख नभए पनि बुझिने विवरण भएका नागरिकलाई टिप्पणीका आधारमा नागरिकताको प्रतिलिपि उपलब्ध गराए सहज हुने सेवाग्राहीको बुझाइ छ । त्यसमा पनि अरुको सहारामा हिँड्नुपर्ने ज्येष्ठ नागरिक झन अप्ठ्यारोमा परेका छन् । घरमा अभिभावक नभएका ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी समस्या हुन थालेको छ । नयाँ नागरिकताका लागि साक्षी व्यक्ति नै सेवाग्राहीले पाउन सकेका छैनन् ।
वडा कार्यालयदेखि इलाका प्रशासन कार्यालयसम्म धाउनुपर्दा
दुःख पाएको लम्कीचुहा नगरपालिका–७ का पदम बोहरा बताउनुहुन्छ । “राष्ट्रिय परिचयपत्रका कारण बुढेसकालमा दुःख पाइयो । कहिले प्रशासन कहिले वडा कार्यालय धाउँदाधाउँदा हैरान छु”, उहाँ भन्नुहुन्छ । नागरिकताको सिफारिसका लागि साक्षी बस्ने व्यक्ति पाउन नै मुस्किल हुने गरेको उहाँले बताउनुभयो ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भुमिश्वर पोख्रेलले पुरानो अभिलेख नभएर नयाँ नागरिकता बनाउने सेवाग्राहीले दुःख पाएको बताउनुभयो । उहाँका अनुसार विभागले पुरानो अभिलेखका आधारमा मात्रै नागरिकताको प्रतिलिपि लिन सकिने, अन्यथा नयाँ प्रक्रियाबाट गएर नयाँ नागरिकता लिनुपर्ने व्यवस्थाले सेवाग्राहीलाई समस्या भएको हो । विभागबाट जस्तो परिपत्र भएको छ त्यसैअनुसार सेवाग्राहीको काम गर्ने हो । परिपत्र भएअनुसार नयाँ प्रक्रियामा जानुपर्नेलाई त्यसैअनुसार गर्न भनेका छौँ भने प्रतिलिपिको हकमा पनि त्यहीँ हो । उहाँले भन्नुभयो, “सरकारी निकायमा अभिलेख नभएर व्यक्तिले पाएको प्रमाणपत्रका आधारमा पुरानो नागरिकताका आधारमा प्रतिलिपि दिन सकेको भए धेरै सेवाग्राहीलाई सहज हुने थियो ।”