काठमाडौं, साउन १ । फिलिपिन्समा आयोजना हुने एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपबाट नेपालले नखेल्ने भएको छ । भदौ १३ देखि १८ सम्म हुने प्रतियोगिताको समुह विभाजन गरिँदा नेपालको नाम नदेखिएपछि नेपालले सहभागिता नजनाउने पक्का भएको हो ।
यसको अर्थ अब प्रतियोगितामा आठ टिमको मात्र सहभागिता रहनेछ । यो प्रतियोगितामा सुरुवातमा १७ टिमले खेल्ने बताएपनि बीचमा ५ टिमले नाम फिर्ता लिएपछि १२ टिमको नाम पक्का भएको थियो । तर एभिसीले तालिका सार्वजनिक गर्दा नेपालसहित जापान, हङकङ र भारतको नाम उल्लेख गरेको छैन । नेपालले पहिलो पटक एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने योजना थियो । जसका लागि महिला भलिबल टिमले तयारी पनि गरिरहेको थियो । सुरुवातमा चीनमा हुने भनिएको यो प्रतियोगिता बीचमा फिलिपिन्समा सरेको थियो । चीनले प्रतियोगिता गर्न अस्विकार गरेपछि फिलिपिन्सले मौका पाएको थियो । भलिबल संघले पनि खेलाडीले क्याम्पमा राखेर नियमित प्रशिक्षण गरिरहेको थियो । जसमा सुरुवातमा ३० खेलाडीलाई क्याम्पमा राखेको थियो । दोस्रो चरणमा नौ खेलाडीलाई हटाउँदै १८ खेलाडीमा झारेको थियो । प्रतियोगिताका लागि अन्तिम चरणमा १२ खेलाडी छनौट गर्ने योजना थियो ।