Kath khabar
पेट्रोलिम पदार्थको मूल्य घट्यो

 

                काठमाडौं, साउन १७ ।  नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएको छ । बुधबार राती निगमले एक प्रेस विज्ञप्ति जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाइएको जानकारी दिएको छ ।

निगमका अनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई रुपैयाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ । यसअघि पहिलो वर्गको पेट्रोलको मूल्य एक सय ६८ रहेकामा अहिले मूल्य घटेर एक सय ६७ कायम गरिएको छ । यसैगरी दोस्रो वर्गको एक सय ७० मूल्य रहेकामा घटेर एक सय ६९ पुगेको छ भने तेस्रो वर्गको पेट्रोलको मूल्य एक सय ७१ रहेकामा घटेर एक सय ७० रहेको निगमले जानकारी दिएको छ ।

डिजेल र मट्टितेलको पनि पहिलो वर्गको एक सय ५७ रहेकामा घटेर एक सय ५५ पुगेको छ । यसैगरी दोस्रो वर्गको एक सय ५९ रहेकामा घटेर एक सय ५७ पुगेको छ भने तेस्रो वर्गको एक सय ६० रहेकामा घटेर एक सय ५८ पुगेको निगमले जानकारी दिएको छ । निमगका अनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् भने तेस्रो वर्गअन्तर्गत पोखरा, काठमाडौँ, दिपायल रहेका छन् ।
–––

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update