Kath khabar
वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दा वार्षिक अरबौं रुपैयाँ बराबरको कोईला आयात बन्द हुने


                  काठमाडौं, साउन १७ ।  गेग्रिन र बलौटे माटोमा सिमेन्ट मिसाएर बनाइने वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ देशैभरि उत्पादन गर्ने हो भने अरबौं रुपैयाँ बराबरको दशौं लाख टन बराबरको कोइला आवश्यक नपर्ने यस क्षेत्रका विज्ञहरूले बताएका छन् ।

अहिले परम्परागतशैलीमा इँटा भट्टामा काँचो इँटा पोल्नको लागि वार्षिक १० लाख टन कोइला भारतबाट आयात गर्न परिरहेको पनि उनीहरुले बताएका छन् । विगत तीन वर्षदेखि ‘ग्रीन ब्रिक्स’ उत्पादन गर्दै आएको इको केयर प्रालिले बुधबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रालिका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विनोद श्रेष्ठले परम्परागत प्रविधिबाट बनाइएको इँटा भन्दा वातावरणमैत्री इँटा (मेशीनले थिचेर बनाइएको काँचो इँटा) ‘ग्रीन ब्रिक्स’ बनाउन कम लागत लाग्ने र सस्तो पर्ने बताए ।

चाइनिज आकार प्रकारको सो इँटाको प्रयोग गर्दा सिमेन्ट कम लाग्ने र गारो लगाएपछि सिधै जस्तोसुकै रंग लगाउन सकिने र विदेशमा जस्तै यो इँटा सयौं वर्ष टिक्ने पनि कम्पनीले दावी गरेको छ । कम लागतमा सानो क्षेत्रफलको जग्गामा पनि वर्षको ३६५ दिननै इँटा बनाउन सकिने र श्रमिक पनि कम लाग्ने संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।

‘ग्रीन ब्रिक्स’ कारखाना स्थापना गरि उत्पादन र बिक्रीको लागि आफूहरू प्राविधिक सहयोग र सल्लाह दिन हरदम तयार रहेको बताउँदै संस्थापक अध्यक्ष श्रेष्ठले पुराना इँटा भटटलाई प्रतिष्‍ठापन गरि देशभरी नै यस्तो इँटा उद्योग बनाउन सकिने उनको भनाइ छ । परम्परागत इँटा सरह नै बलियो हुने दावी गरिएको सो इँटाको आकार र तौल नेपाल सरकारले तोकेको मापदण्ड सरह नै रहेको छ ।

इको केयर प्रालिबाट उत्पादित ‘ग्रीन ब्रिक्स’ का सद्भावनादूत एवम् वरिष्ठ हास्य कलाकार किरण केसी ‘ए रातामकै’ ले दिनहुँ राजधानी लगायतका ठाउँ विभिन्न कारणबाट प्रदुषित भइरहेको उल्लेख गर्दै प्रदुषण कम हुनेगरि उत्पादित वातावरणमैत्री इँटा ‘ग्रीन ब्रिक्स’ प्रयोग गरि आफ्नो घर र आवास बनाउन सर्वसाधारण उपभोक्तासँग आग्रह गरे ।

पत्रकार सम्मेलनमा इको केयर प्रालिकी प्रबन्ध निर्देशक ज्योति दवाडी र संस्थापक निर्देशक स्वस्ति सुवेदीले पनि ‘ग्रीन ब्रिक्स’ का विविध आयामबारे प्रकाश पारेकी थिइन् । काभ्रेको पनौतीमा रहेको सो कम्पनीले हाल आफैँले ग्रीन ब्रिक्स उत्पादन तथा बिक्री पनि आफैँले गर्दै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update