काठमाडौं, साउन १७ । जल तथा मौसम पूर्वानुमान माहाशाखाले आगामी तीन दिनसम्म विशेषगरी रातको समयमा मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । तर केही दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याए पनि आजदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आजदेखि नै शुक्रबार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताउनुभयो । “तीन दिन यताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको थियो, डुबान र बाढीसमेत गयो, आगामी तीन दिन पनि पानी पर्छ । तर सुधारात्मक बन्दै जानेछ”, उहाँले भन्नुभयो, “देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको हो ।”
आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । (RSS)