Kath khabar
श्रीमानको हत्यापछि आमा र छोराको विचल्ली

 

               भक्तपुर, साउन २० । भक्तपुरको मध्यपुर थिमी दिव्यश्वरी जग्गा प्लानिंगको एउटा टहरामा जीवन काटिरहेका आमाछोरा हिजोआज अहिले के खाने ? भरे के खाने ? भन्ने चिन्तामा छन् ।

पाँचथर घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं २ दिव्यश्वरी जग्गा प्लानिंगमा बनेको एउटा टहरामा भाडामा बसेर जीवन बिताइरहेका दीक्षा लिम्बु (नागरिकताको नाम चित्रकला मगर) र उनका १४ महिनाको छोरा निर्मल लिम्बुको चिन्ताको कारण हो, गरिबी । गरिब हुँदाहुँदै पनि जेनतेन जीवन बिताइरहेका उनीहरुको परिवारमा कमाई ल्याउने श्रीमानको हत्या भएपछिबाट उनको परिवार समस्यामा पर्न थालेको हो ।

परिवारले बताए अनुसार गएको जेठ २ गते श्रीमान् पाँचथर घर भई भक्तपुरको टहरामा भाडामा रहेका वर्ष २७ का सुमन लिम्बुको मनमोहन अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो । यसअघि उनी वैशाख ७ गते दिव्यश्वरी जग्गा क्षेत्रमै कुटपिटमा परेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको अस्पतालमै मृत्यु भएको थियो । 

पीडित दीक्षाका अनुसार श्रीमानमाथि पाँचजनाको समूहले धारिलो हतियार प्रयोग गरेका थिए । घाइते भएपछि तत्कालै उनलाई अस्पताल पुर्‍याइएको थियो । तर झण्डै २५ दिनको उपचारपछि श्रीमान् यो संसार त्याग गरे । त्यसपछिबाट हाम्रो बेहाल भएको छ, दीक्षाले भनिन्, कतै जाउँ? भने सानो छोरा छ, के गरूँ कसरी खाउँ ।

दीक्षाका अनुसार  झगडा गर्ने पक्षहरु चिनजानकै थिए । उनीहरु त्यो बेला जाँडरक्सी पिउँदै थिए । यही क्रममा उनीहरुवीच विवाद हुन थाल्यो । विवादले उग्र रुप लिँदा कुटपिटसमेत हुन थाल्यो र श्रीमान् सुमन गम्भीर घाइते भए ।

दीक्षाका अनुसार अहिले उनको परिवार विभिन्न दानीहरुबाट दिएको दानको आधारमा चलिरहेको छ । मेरो दुःख देखेर कसैले दयामाया गरेर दिएको सहयोगमा हामी आमा छोराको जीवन चलिरहेको छ, उनले दुःख बिसाइन्, कहिलेसम्म यसरी मागेको भरमा चल्ने होला र ?

पीडितका दाइ नाता पर्ने अर्जुन मगरका अनुसार घटनापछि कुटपिटमा संलग्न रहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको थियो । स्थानीय उत्तम कोजू, सुमन खड्का, सुजन खड्का, राजीव मोक्तान र सञ्जय मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो । तर पछि मिलापत्र भई उपचार खर्च व्यहोरिदिने सहमति पछि उनीहरुलाई छोडिएको थियो । पछि फेरि  पीडितको मृत्यु भएपछि उनीहरूलाई प्रहरीले फेरि पक्राउ गरेको थियो । तर अहिले उनीहरु बाहिरै छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update