Kath khabar
चीनमा बाढीका कारण आठको मृत्यु, १९ बेपत्ता


 

                 बेइजिङ, साउन २१ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् ।

 बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको उचाइमा अवस्थित उपत्यकामा रहेको एउटा पुलका साथै घरहरू क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार प्रभावित क्षेत्र नजिकैका पहाड र समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा समेत बाढी र पहिरोबाट छ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएका छन् । यसैगरी बाढीले पुल भत्काउँदा यातायात आवागमनसमेत प्रभावित भएको छ ।  

चिनियाँ समाचार संस्था, सिन्ह्वाले उद्धारमा संलग्न एक कार्यालयलाई उद्धृत गरी एक व्यक्तिलाई उद्धार गरी अस्पताल लगिएको र अन्य दुई जनाको मृत्यु भएको जनाएको छ ।  

स्थानीय अधिकारीले प्रकोपको बारेमा जानकारी दिँदै उद्धार अभियानमा अहिलेसम्म एक हजार ५५४ जना उद्धारकर्तालाई प्रभावित क्षेत्रमा पठाइएको र उद्धार कार्य जारी राखेको  जनाएका छन् ।
---

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update