Kath khabar
'फेस अफ नेपाल २०२४' को उपाधि चाँगाथलीका हिमाञ्चल राज केसीलाई

 

               ललितपुर, साउन २५ । एसिया मोडेल फेस्टिभलको लागि ‘फेस अफ नेपाल २०२४’ उपाधि ललितपुर चाँगाथलीका २० वर्षीया हिमाञ्चल राज केसीले जितेका छन् । 

‘फेस अफ नेपाल २०२४’ टाइटल जितेसँगै हिमाञ्चलले आउँदो नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुने एशियाली  मुलुकका मोडेलहरुबीच प्रतिष्पर्धा हुने फेस अफ एशिया अर्थात एशिया मोडेल प्रतियोगितामा नेपालको तर्फबाट भाग लिन पाउनेछन् । 

राजधानीको दरबारमार्गस्थित होटेल याक एण्ड यतीमा बिहीबार साँझ आयोजित फाइनल प्रतियोगितामा सहभागी अन्य ९ जना प्रतिस्पर्धालाई पाखा लगाएर हिमाञ्चलले सो उपाधि जितेका हुन् । यसअघि उनी उत्कृष्ट १० मा छनौट भएका थिए । सो प्रतियोगितामा आर्यन सोनी चौधरीले जज च्वाइस जिते भने फेस अफ नेपालको महिलातर्फको टाइटल सिम्रन चन्द ठकुरी र टिना परियारले जितेका छन् ।

हिमाञ्चलले ‘फेस अफ नेपाल २०२४’ मुख्य उपाधिको साथै देश विदेशबाट सर्वाधिक मतको उपाधि र उत्कृष्ट शारीरिक सुगठन गरि तीनवटा उपाधि जितेका छन् । महालक्ष्मी नगरपालिका वडा नं ७ चाँगाथलीका व्यवसायी एवम् समाजसेवी राजकुमार र गृहिणी सविता केसीका छोरा हिमाञ्चलराज राजधानीको कमलपोखरीस्थित इस्लिङ्गटन कलेजमा बिबिए चौथो सेमेस्टरमा अध्ययन गर्दैछन् । उनी २०६१ बैशाख ७ गते चाँगाथलीमा जन्मेका हुन् । ६ फिट १ इन्च अग्ला हिमाञ्चलले बर्जर पेन्टस् लगायत विभिन्न व्यवसायिक विज्ञापनहरुमा मोडेलको रुपमा खेलिसकेका छन् । 

सात वटै प्रदेशमा अडिसन गरी छनोट भएका प्रतियोगिहरुलाई मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’ मा समावेश गरिएको थियो । छनोट भएकालाई देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिमसमेत दिइएको थियो । मोडलिङ क्षेत्रमा लागेकाहरूको सारथि बनेको यस कार्यक्रम आगामी दिनमा थप सुदृढ बनाइ अगाडि बढ्ने अध्यक्ष माझीले बताइन् ।

दक्षिण कोरियामा हुँदै आएको मोडल हन्टलाई नेपालले फ्रेन्चाइज लिएर सन् २०१६ देखि मोडल हन्ट ’फेस अफ नेपाल’ नेपालमा सञ्चालनमा आएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update