Kath khabar
चलचित्र अञ्जिलाको रिलिज मिति सारियो, अब फागुन २९ गते रिलिज हुने


                  काठमाडौं, साउन २५ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ’अञ्जिला’ को रिलिज मिति सारिएको छ । पहिला माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ ।

निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको बताएका छन् । चलचित्रमा एञ्जिला स्वयं मुख्य भूमिकामा देखिनेछिन्, साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गु?ङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ । निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।

चलचित्रको छायाङ्कन एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन् । चलचित्र एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथामा आधारित छ, जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ । यद्यपि, यो चलचित्र ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको निर्देशकले स्पष्ट पारेका छन् ।

चलचित्रको डिओपी सुदीप बराल र सम्पादन मिलन श्रेष्ठको रहेको छ भने मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा प्रेम श्रेष्ठले निर्माण गरेका हुन् । विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । विनोद सुवेदी खत्री निर्माण नियन्त्रक हुन् ।
 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update