Kath khabar
बङ्गलादेशको अदालतमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्याको मुद्दा चल्यो


                ढाका, साउन ३० । गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ ।

एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भाग्नुभएको थियो र अहिले भारतमै रहनुभएको छ । उहाँको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले ढाकाको सडकमा ठूलो विरोध प्रदर्शन गरेका थिए ।

उहाँको पतनसम्मको अशान्तिका साताहरूमा चार सय ५० भन्दा बढी मानिस मारिएका थिए । निजी नागरिकका तर्फबाट मुद्दा ल्याउनुभएका वकिल मामुन मियाले भन्नुभयो, “शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।”

उहाँका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो । यो बङ्गलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो ।

अदालतमा मियाले दायर गर्नुभएको मुद्दामा हसिनाका पूर्वगृहमन्त्री असदुज्जामान खान र हसिनाको अवामी लिग पार्टीका महासचिव ओबैदुल कादिरको नाम पनि समावेश गरिएको छ । यसमा हसिना सरकारले नियुक्त गरेका चार शीर्ष प्रहरी अधिकारीको पनि नाम छ । उनीहरूलाई पदबाट बर्खास्त गरिएको छ ।

उक्त मुद्दामा एक किराना पसलका मालिकको मृत्युको जिम्मेबारी सात जनालाई लगाइएको छ । जुलाई १९ मा विरोध प्रदर्शनलाई हिंसात्मक रूपमा दबाउने क्रममा प्रहरीले उनको गोली हानी हत्या गरेको थियो ।

डेली स्टार अखबारका अनुसार गोलीबारी भएको छिमेकका निवासी अमिर हम्जा शातिल र पीडितका एक ‘शुभचिन्तक’ का तर्फबाट मुद्दा ल्याइएको थियो ।

 हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकहरूलाई आग्रह

अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गर्नुभएको छ ।

“म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु”, उहाँले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भन्नुभयो ।
---

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update