Kath khabar
पहिरोले गमगढी-तारापानी-सोरुकोट सडक अवरुद्ध


         मुगु, साउन ३०। पहिरोले सडक बगाएपछि गमगढी-तारापानी-सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका-८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् ।

जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिनुभयो । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी - तारापानी - सोरुकोट र तारापानी- धैन-दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो ।

गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौति गरी सडकको अवरोध हटाइएको थियो । यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ । गमगढी-तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो । (रासस)
---

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update