Kath khabar
आफ्नै देशमा बनेको निर्माण सामाग्रीको उपयोगमा जोड


                 भक्तपुर, साउन ३० । युवा उद्यमी इन्जिनियर कृष्णभक्त दुवालले स्वदेशी निर्माण सामाग्रीको प्रयोगमा जोड दिएका छन् । व्यापार घाटा वर्षैपिच्छे बढ्दो रहेको बेला कमसेकम स्वदेशी वस्तुको उपभोग गरिदिए केही भए पनि व्यापार घाटा घट्ने उनको धारणा थियो ।

भक्तपुर बहुमुखी क्याम्पस दूधपाटी भक्तपुरका विद्यार्थीसामु उनले युवा विद्यार्थीमा देशभक्तिपूर्ण भावना हुनुपर्नेमा पनि जोड दिए । भक्तपुरकै झौखेलस्थित नेपाल इको प्यानल उत्पादन कारखानाको अवलोकन भ्रमणपश्चात भएको छलफलमा उनले देशभक्तिपूर्ण भावना भएकाले केही महँगो भए पनि स्वदेशी वस्तु नै उपयोग गरिरहेको पाएको जानकारी गराए ।  

क्याम्पसमा व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित बीबीएम सातौ सेमेस्टर (२०२०) समूहमा क्रियटिभीटी एण्ड इनोभेसन विषय अध्ययनतर विद्यार्थीले इको प्यानल उत्पादन कारखानाको अध्ययन भ्रमण गरेका थिए । इन्टरप्रेनरसिप प्राक्टिस एण्ड पोसिबिलिटी अफ न्यु स्मल बिजनेश इन नेपाल (नेपालमा नयाँं सानो व्यापारमा स्वरोजगार अभ्यासको सम्भावना) सँंग सम्बन्धित विद्यार्थीले कारखानाको अवलोकन भ्रमण गरेका थिए । कारखानाको अवलोकन भ्रमणपछि विद्यार्थीसँग कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरमा अन्तरक्रिया गरिएको थियो ।

कलेजका उपप्राध्यापक डा किशोर हाकुदुवालले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले भ्रमण गराइएको जानकारी गराए । भ्रमणमा विद्यार्थीले इको प्यानलको उत्पादनदेखि बिक्रीवितरणसम्मको विवरणबारे जानकारी लिएका थिए । त्यस अवसरमा सिइओ दुवालले नेपाल इको प्यानल स्वदेशमै बनेको नयाँं निर्माण सामाग्री रहेको जानकारी गराए । त्यस अवसरमा उनले इको प्यानलको प्रयोगबाट तीव्र निर्माण सम्भव हुने पनि जानकारी विद्यार्थीलाई गराए । भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधी, ध्वनि नियन्त्रक रहेका कारण नेपाल इको प्यानलले लोकप्रिय आधुनिक निर्माण सामाग्रीको रुपमा ख्याति कमाउँदै आएको जानकारी उनले गराए । वातावणमैत्री भएकै कारणले पनि धेरै उपभोक्ताले यसलाई रुचाएको उनले जनाए । उपभोक्ताको लोकप्रियताकै कारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न डिलरहरुमार्फत नेपाल इको प्यानलको बिक्रीवितरण हुँदै आएको जानकारी उनले गराए ।

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टिसन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कर्पोरेट कार्यालय भक्तपुरकै सल्लाघारीमा रहेको छ ।  

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update