Kath khabar
तातोपानी भन्सारबाट न्यून राजस्व असुली

चौतारा, साउन ३ । चीनसँगको प्रमुख व्यापारी भन्सार नाका तातोपानीबाट  गत वर्ष लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष ०७७/७८ मा रु एक अर्ब दुई करोड मात्र राजस्व असुली भएको छ । सो कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार सो आवमा रु पाँच अर्ब ४७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

गत असारमा आएको बाढीपहिरोले सीमा पुल क्षति पुग्न गई मर्मत गर्दा लामो समय लाग्नुका साथै सडक अवरुद्ध तथा कोरोना भाइरसलगायतका कारणले सो नाका चार महिना मात्र सञ्चालनमा आएको थियो । यसमा पनि लक्ष्यभन्दा ज्यादै कम सामान आयात भएकाले राजस्वमा असर पुगेको उहाँले बताउनुभयो ।

विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनःसञ्चालनमा आए पनि सो नाका  विभिन्न प्राकृतिक अवरोधले पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । गत असार २ गतेको बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग कोदारी र लिपिङ पुल भासिएपछि अझै सञ्चालनमा आउन सकेको छैन । लिपिङ पुल पारी १० वटा कन्टेनर अझै रोकिएको भन्सार कार्यालयले जनाएको छ ।

 

(रासस)

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update