Kath khabar
गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिकले नरोकेको पुष्टि

 

                 भक्तपुर, साउन ३२ । भक्तपुरको गट्ठाघरमा बिहीबार भएको दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । फुटेजमा दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ ।

दुर्घटनास्थलको सिसिटिभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो । सीसीटीभी फुटेजमा गुडिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिँदै अगाडि लगेको प्रष्ट देखिएको छ ।

स्कुटर चालकको आज बिहान मात्र सनाखत भएको छ । दुर्घटनामा परेका व्यक्ति ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइराला रहेका छन् । उनको शव आफन्तले सनाखत गरेका हुन् । त्यसअघि बिहीबार प्रहरीले नै दुर्घटनामा परेर निधन हुने महिला रहेको भन्दै नाम र ठेगाना नै सार्वजनिक गरेको थियो । तर मृतक पुरूष रहेको खुलेपछि उक्त विवरण प्रहरीले सच्यायो ।

बिहीबार  दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि बिहीबार गट्ठाघर दिनभर तनावग्रस्त बनेको थियो । स्कुटर चालकको शरीर क्षतविक्षत अवस्थामा थियो । दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनिएको  थियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइ लाग्यो । सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । घटनापछि आक्रोशित भीडले प्रहरी बीट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update