Kath khabar
सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमपोखरी फुटेको अनुमान


                   सोलुखुम्बु, साउन ३२ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले  थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन् । थामे गाउँमा बाढीले क्षति पु-याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । दुधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय वासिन्दालाई सचेत गराइएको छ ।

प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीयले टाशीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकिन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update