Kath khabar
आजदेखि यु-२० पुरुष साफ च्याम्पियनसिप,  नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदै

 

                       काठमाडौं, भदौ २ ।  दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिपफुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

सन् २०१५ मा नेपालबाट सुरु भएको उक्त च्याम्पिनसिपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो । उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।

नेपालले साफ यू–२० च्याम्पियनसिप आयोजना गर्न लागेको यो चौथो पटक हो । यसअघि नेपालले पहिलो संस्करणसहित सन् २०१९ मा तेस्रो र २०२३ मा पाँचौँ संस्करण आयोजना गरेको थियो ।

त्यसपछि सन् २०१७ मा भुटानमा भएको उक्त च्याम्पियनसिपमा पनि नेपाल च्याम्पियन बनेको थियो । त्यसपछि भारतले लगातार तीन पटक जित्दै उपाधिमा ह्याट्रिक गरिसकेको छ । अहिलेसम्म पाँच संस्करण आयोजना हुँदा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनल पुगेको छ । एक पटक समूह चरणबाटै बाहिरिएको इतिहास छ ।

श्रीलङ्काका प्रशिक्षक देभ्साग्याम राजमनीले उक्त प्रतियोगिताको लागि आफ्नो टोली तयारी अवस्थामा रहेकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य राखिएको बताउनुभयो । साविक विजेता भारतका प्रशिक्षक रञ्जन चौधरीले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको बताउनुभयो ।

बङ्गलादेशका प्रशिक्षक एकेएम मारुफुल हकले आफ्नो टोलीमा अनुभवी खेलाडीहरु भएकाले प्रतियोगिताको फाइनलमा पुग्ने लक्ष्य रहेको बताउनुभयो । बङ्लादेश गत संस्करणको उपविजेता बनेको थियो । भुटानका कप्तान पेमा जाङ्गपोले यस पटक आफ्नो टोलीले नयाँ इतिहास रच्ने लक्ष्यका साथ मैदानमा उत्रने बताउनुभयो ।

नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, नीरज कार्की, हरिशराज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी, र रोहन खड्गी छन् ।
---

 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update