Kath khabar
कुल वस्तु निर्यात तीन प्रतिशतले घट्यो



                      काठमाडौं, भदौ २ । कुल वस्तु निर्यातमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रतिवेदन अनुसार कुल वस्तु निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड रुपैंयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः तीन दशमलव तीन प्रतिशत र चार दशमलव तीन प्रतिशतले घटेको छ भने चीनतर्फ भएको निर्यात ४६ दशमलव छ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिष्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा वर्षमा कुल वस्तु आयात एक दशमलव दुई प्रतिशतले कमी आई १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आयात १६ दशमलव एक प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन प्रतिशत र १७ दशमलव छ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोशाक, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेसिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड शिट इन क्वायल, कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ । 
 

निर्याततर्फ भैरहवा, जलेश्वर, कृष्णनगर, मेची, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा र तातोपानी भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा एक प्रतिशतले कमी आई  १४ खर्ब ४० अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको थियो । समीक्षा वर्षमा निर्यात–आयात अनुपात नौं दशमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात नौं दशमलव सात प्रतिशत रहेको थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५१ अर्ब ७६ करोड बराबरको वस्तु आयात भएको छ । 

अघिल्लो वर्ष यस्तो आयात एक खर्ब ५४ अर्ब ४२ करोड बराबरको भएको थियो । बृहत् आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५६ दशमलव चार प्रतिशत र ४२ दशमलव नौं प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात शून्य दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव सात प्रतिशत, शून्य सात दशमलव सात प्रतिशत र ४४ दशमलव छ प्रतिशत रहेको थियो ।  

समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८ दशमलव आठ प्रतिशत, पुँजीगत वस्तुको नौं दशमलव सात प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपातहरु क्रमशः ५३ दशमलव दुई प्रतिशत, आठ दशमलव चार प्रतिशत र ३८ दशमलव तीन प्रतिशत रहेका थिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update