Kath khabar
पहिराका कारण राष्ट्रिय राजमार्गका विभिन्न खण्ड अवरुद्ध


               काठमाडौं, भदौ ४ । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् भने दुई सय ४४ सडक खण्ड एकतर्फी रुपमा मात्रै सञ्चालनमा छन् ।

मदनभण्डारी राजमार्गको प्यूठानस्थित एनएच जिरो नाइन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । प्यूठानस्थित गर्जेनीमा भालुवाङ–लिवाङ–रोल्पा–माडीचौर–दारबोट खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । मोरङको चतरा–मुलघाट–माझीटार–अमापु डाँडा– गणेशचोक राजमार्गस्थित चतरा पुलदेखि बराहक्षेत्र जाने सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन आवतजावतमा समस्या परेको छ ।

यसैगरी सुर्खेत तल्लो ढुङ्गेश्वर–सातखब्बा–दुल्लु–पिपलकोट–खुलालु–मन्मा–नग्मा–जुम्ला राजमार्गको कालीकोटस्थित गाल्जे खण्ड पनि पूर्ण रुपमा नै अवरुद्ध भएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथरस्थित यलम्बर सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । यसैगरी तानसेन–रिडी–कोरला राजमार्गको गुल्मीस्थित अच्चेश्वर गुफा नजिकको सडकखण्ड र राप्ती राजमार्गको सल्यानस्थित चोरखोला सडकखण्ड समेत पूर्ण रुपमा अवरुद्ध भएको सडक विभागको तथ्याङ्क रहेको छ ।

भूगर्भविद् डा सुवोध ढकालले वर्षाका कारण माटो गलिसकेकाले हल्का वर्षा हुँदा समेत पहिरोको जोखिम बढी हुने भएकाले सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभएको छ । “अविरल वर्षाका कारण माटो गलाएको छ । अहिले त थोरै पानी पर्नासाथ पहिरो जान थालेको छ”, उहाँले भन्नुभयो, “त्यसैले अत्यावश्यक काममा मात्रै हिँडडुल अनुरोध छ ।”
---

 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update