Kath khabar
भारतीय सन्त पाइलट बाबाको निधन


                भक्तपुर,भदौ ५ । भारतका चर्चित अध्यात्म गुरु, सन्त पाइलट बाबाको मङ्गलबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीरको अन्त्येष्टि गर्न भने बाँकी छ ।

भारत र पाकिस्तानबीचको सन् १९६५ र १९७१ गरि दुईपटकको युद्धमा भारतीय लडाकु वायुसेनाका प्रमुख (विङ्ग कमाण्डर) भएर युद्ध लडेका कपिल सिंह पछि भौतिक सम्पत्ति त्यागेर ‘पाइलट बाबा’ बनेका थिए । उनी जुना अखडा भारतका महामण्डलेश्वर थिए ।

तिनै पाइलट बाबाको नाउँमा आजभन्दा १३ वर्ष अघि २०६८ सालमा भक्तपुरको साविक गुन्डु गाविस वडा नं ३ स्थित सूर्यविनायक मन्दिरको पूर्व दक्षिणतिरको १३ रोपनी अग्लो डाँडामा पाइलट बाबा ध्यान केन्द्र तथा आश्रमको निर्माण गरिएको थियो । पाइलट बाबा ध्यान केन्द्र हाल सूर्यविनायक नगरपालिका वडा नं ७ मा पर्छ ।

र्मिक तथा आध्यात्मिक ध्यान केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले तिनै पाइलट बाबाको नेपाली अनुयायी तथा नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.रामप्रसाद पोखरेल (आँखा बा) दम्पतीले सो जग्गा पाइलट बाबा ध्यान केन्द्र एवम् आश्रमको नाउँमा किनिदिएको त्यहाँ सञ्चालित (तत्कालिन) संस्कृत गुरुकुलका पूर्व प्राचार्य सन्तोष पौडेल बताउँछन् ।

आश्रम तयार भएपछि प्रायःजसो हरेक वर्षको महाशिवरात्रिका सो आश्रममा भारतबाट त्यहाँ आउने गरेका पाइलट बाबा पछिल्लो पटक तीनवर्ष अघिको महाशिवरात्रीमा आएर सो आश्रममा यज्ञ गरि १० दिन बसेर भारत फर्केको पूर्व प्राचार्य पौडेल बताउँछन् ।

पाइलट बाबा हरेक पटक उनी नेपाल आउँदा उनका नेपालीका साथै विशेष गरि रसियन अनुयायीहरू आउने गरेको पौडेल बताउँछन् ।पछिल्लो पटक करिव ८ महिनाअघि पाइलट बाबा धरानस्थित त्रिखण्डी आश्रममा आएतापनि भक्तपुरमा नआएको उनी बताउँछन् ।

२०६८ सालमा केदारनाथको शिर डोलेश्वर भनेर घोषणा गर्दाताका डोलेश्वर मन्दिर हातामा आयोजना गरिएको महायज्ञमा पनि एकदिन प्रमुख अतिथि भएर आएको डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष एवम् तत्कालिन सिपाडोल गाविसका अध्यक्ष विदुरमान सिंह बस्नेत बताउँछन् ।

आश्रमका मुख्य दाता डा.रामप्रसाद पोखरेल (आँखा बा) की धर्मपत्नीको निधन भएपछि ६ वर्षअघिदेखि सो गुरुकुल बन्द भएको र त्यहाँ अध्ययनरत विद्यार्थी भारतको बनारस, काठमाण्डौ र पोखरा लगायतका संस्कृत गुरुकूलमा अध्ययनको लागि गएपछि पाइलट बाबा आश्रम अहिले आध्यात्मिक र पर्यटकिय स्थलको रुपमा मात्रै रहेको छ ।

शिखर शैलीमा निर्मित सो आश्रमबाट काठमाण्डौ उपत्यकाका तिनैवटा शहर देख्न सकिने भएकोले पछिल्लो समय पाइलट बाबा आश्रम आन्तरिक र वाह्य पर्यटकहरुको रुचाईको थलो बनेको छ ।

pilot-ba-3-1724223349.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update