काठमाडौं, भदौ ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वतमान महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई अपराधीका रुपमा प्रमाणित गर्न सक्ने दाबी गरेका छन् ।
पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले सामाजिक सञ्जालमार्फत लामिछानेलाई भ्रष्टाचारी, राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गरिछाड्ने चेतावनी दिएका हुन् । ढकाललाई पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो ।
उनले भनेका छन् -
श्री रवि लामिछाने,
तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु । कारबाहिको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस् । तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।