Kath khabar
मौरी जोनले चितवनका कृषक उत्साहित

नारायणगढ (चितवन), ८ भदौ - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ भरतपुरले चितवनलाई मौरी जोनका रुपमा विकास गरेसँगै यहाँका मौरीपालक किसान थप उत्साहित भएका छन् । जोन कार्यक्रममार्फत किसानलाई मौरीको घार, मह काढ्ने मेसिन, मैन बाक्सालगायतका सामग्री प्रदान हुँदा किसानलाई ऊर्जा थप्ने काम भएको छ ।
 
    खैरहनी नगरपालिका–४ की सरस्वती गिरी विगत पाँच वर्षदेखि मौरीपालन पेसामा हुनुहुन्छ । उहाँले ५० वटा घारबाट मौरीपालन सुरु गर्नुभएको थियो । “व्यवसायकै क्रममा चरनमा लैजाने क्रममा मौरीलाई विष प्रयोग गरी मारियो, कुनै समय ९० वटा घार बनाएकी थिएँ तर अहिले २५ वटामा सीमित छ । घार अझै थप गर्ने योजनामा छु ।” उहाँले मौरी जोन कार्यक्रमले आफूहरुमा उत्साह थपेको बताउनुभयो ।   

    भरतपुर महानगरपालिका–११ का दामोदर देवकोटा विगत १२ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । उहाँ मौरी जोनमा जोडिएपछि थप उत्साह मिलेकोे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला एक सय घार मौरी थिए । अहिले यो बढाएर एक सय ३५ घार पु¥याएको छु ।” मौरी जोनमा जोडिएका कृषकलाई हरेक वर्ष कुनै न कुनै कार्यक्रम जोड्ने हुँदा आफूहरुमा उत्साह थपिएको देवकोटाले बताउनुभयो ।

    स्थानीयस्तरमा उत्पादित महको मूल्य र भारतबाट आयातित महको मूल्यमा अन्तर रहेकाले बजारीकरणमा केही समस्या देखिए पनि प्राविधिक विषयमा जोन कार्यक्रमको सहयोगले सहज भएको उहाँको भनाइ छ । बजारमा यहाँको उत्पादन उधारोमा पठाउनुपर्ने बाध्यता रहेको देवकोटाले बताउनुभयो ।
 
    जोन कार्यक्रममा जिल्लाका एक सय २७ जना कृषक सहभागी छन् । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ वटा मौरी जोनको कार्यक्रम सुरु भएको हो । कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका र राप्ती नगरपालिकाका किसान यो कार्यक्रममा जोडिएको बताउनुभयो ।
 
    ढुङ्गानाका अनुसार जोन कार्यक्रमको सुरुआती समयमा जिल्लामा छ हजार तीन सय ५० मौरीका घार रहेकामा अहिले यो सङ्ख्या बढेर ११ हजार नौ सय पुगेको छ । जिल्लाबाट वार्षिक चार सय ४७ मेट्रिकटन मह बाहिर पठाउने गरिएको उहाँले बताउनुभयो । महको राष्ट्रिय प्रतिघार उत्पादन १६ दशमलव २६ किलो भए पनि जिल्लामा भने उत्पादन बढी हुने गरेको ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा प्रतिघार २५ दशमलव ६ किलो मह उत्पादन हुँदै आएको छ ।

    उहाँले भन्नुभयो, “जोन कार्यक्रममा जोडिएका किसानलाई हामीले सहयोग गर्दै आएका छौँ । उहाँहरुमा उत्साह बढेको छ ।” यहाँ उत्पादित महको मुख्य बजार चितवनसहित बुटवल, काठमाडौँ र पोखरालगायत सहर रहेका छन् । यहाँ मेरीफेरा र सेरेना जातको मौरी पालन भइरहेको छ । जोनबाट वार्षिक तीन सय चार दशमलव ६४ मेट्रिकटन मह उत्पादन हुँदै आएको ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update