Kath khabar
'हराएका वर्षहरू' का प्रकाश तामाङलाई भेट्ने प्रधानमन्त्रीको ओलीको इच्छा


                  काठमाडौं, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले 'हेर्ने कथा' को हालै सार्वजनिक भएको नयाँ एपिसोड 'हराएका वर्षहरू' हेरेपछि प्रकाश तामाङलाई भेट्ने इच्छा व्यक्त गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले प्रकाश तामाङ र हेर्ने कथाकी प्रस्तोता विद्या चापागाईंलाई भेट्न चाहेको बताएका हुन् । उनले हराएका वर्षहरू हेरेको र प्रकाश तामाङको परिवारसँगको मिलनको दृश्यले आँसु आएको प्रतिक्रिया दिएका छन् ।

‘हेर्ने कथा’ ले 'हराएका वर्षहरू' मा ३५ वर्षभन्दा लामो समयदेखि हराइरहेका झापा (पहिले, हाल भोजपुर) घर भई गोरखा बस्दै आएका प्रकाश तामाङ (काले मोक्तान) को परिवारको पुनर्मिलन गराएको छ ।  मर्यो भनेर माया मारेको छोरालाई अगाडि पाउँदा भएका भावुक दृश्यहरु भिडियोमा समावेश छन् । जुन दृश्यले हेर्ने सबैलाई भावुक बनाउँछ । आफ्नो वास्तविक नाम ठेगाना बिर्सिएर हिमालको चिसो हावामा चौरी गोठालो बनेका प्रकाशलाई हेर्ने कथाको टिमले परिवार भेटाउन जाँदा अगाडि भएको आमालाई नचिनेर 'आमा कता ?' भनेर सोध्दाको दृश्यले जोकोहीको पनि आँखा भरिएर आउँछ ।

ओलीले सञ्जालमा लेखेका छन्, ‘एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु।’ उनले हेर्ने कथा टिमलाई समेत धन्यवाद दिएका छन्।

हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ ।

हेर्ने कथाको पछिल्लो एपिसोड 'हराएका वर्षहरू' हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचें - यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान्! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली 'स्टोरी टेलर' हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!

 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update