बैतडी, भदौ १२ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा–४ मा अवस्थित पञ्चदेवल शिव धाम सप्तदेवल ऐतिहासिक तथा धार्मिक महत्त्वको स्थल भए तापनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । दक्षिण सहस्त्रलिङ्ग उचित संरक्षण र प्रचार प्रसारको कमीका कारण जनमानसमा लोकप्रिय हुन सकेको छैन ।
पञ्चदेवल शिव धाम सप्तदेवल मन्दिर संरक्षणमा स्थानीय सरकारको उदासीनता स्पष्ट देखिन्छ । यसको गहिराइ र मन्दिरबारे अध्ययन तथा अनुसन्धान नहुनाले यसबारे यकिन जानकारी उपलब्ध छैन । घना घरको बीचमा अवस्थित यस रमणीय स्थलमा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको भए तापनि यसको विकास हुन सकेको छैन । धार्मिक पर्यटकीय सम्भावना भए तापनि पर्यटकहरूलाई आकर्षित गर्न सकिएको छैन ।
स्थानीयले पूजापाठ र व्रतबन्ध लागि आउने बाहेक अन्य पर्यटकको संख्यामा कमी भएको बताएका छन् । यस महत्त्वपूर्ण धार्मिक सम्पदाको विकास र संरक्षणका लागि छुट्याइएको बजेटको सही सदुपयोग नहुनु पनि समस्याको एक मुख्य कारण हो ।
शिवरात्रीको दिनमा पञ्चदेवल शिव धाम सप्तदेवल धाममा ठूलो मेला लाग्ने गर्छ । विभिन्न क्षेत्रका भक्तजनहरू दर्शनका लागि यहाँ आउने गर्छन् । यो स्थलमा दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ ।