Kath khabar
शंखमुलमा रुपक बान्तवा राइको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

 

                      काठमाडौं, भदौ १३ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका-१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राइको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका-७ घर भई हाल काठमाडौं-१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यही भदौ १० गते काठमाडौं-१० शंखमुल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तले घरको भुइँ तल्लाको सटरभित्र निजको छोरा ४१ वर्षीय रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ फरार भएको र निजको राति नै मृत्यु भएकाले हत्या गरेको अभियोगमा प्रहरीले एमके कुमारलाई पक्राउ गरेको हो ।”

पक्राउ परेका निज एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा, झोला, लुगा लगायतका सामान फेला पारी बरामद गरेर नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update