Kath khabar
अरनिको राजमार्ग विस्तार : आठ सम्पदाको व्यवस्थापनमा कठिनाइ


                    काभ्रेपलाञ्चोक, भदौ १७ । अरनिको राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार वर्षा र स्थानीयको अवरोधले केही सुस्ताएको छ । आयोजनालाई हाल यस आठ दशमलव ४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ ।

साँगा–धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरण उल्लेख छ । यस्तै भैँसेपाटीमा दुई कुवा, ढङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् ।

यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् । आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्नेगरी बनाइएको वैकल्पिक ‘डिजाइन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने गर्ने जनाइएको छ ।

“हामी साँगा–धुलिखेल सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेका छौँ, आयोजनाले छलफलकै आधारमा उपयुक्त विकल्पमा जानेछ”, आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भन्नुभयो ।

आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने जनाएको छ ।

यस्तै नासिका मन्दिरको वरिपरीको वाल संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताउनुभयो ।

लामिछानेकाअनुसार साँगाको ढुङ्गेधारा केही पर सारी पानी ट्याङ्कीसहितको निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ । यस्तै भैँसेपाटीमै रहेका दुई कुवालाई दाँहिनेतिर इन्टेक निर्माण गरी ट्याङ्कीसहितको ढुङ्गेधारा निर्माणको प्रस्ताव हो । स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् ।

सडक विभागका अनुसार विस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको थियो । विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधि ३६ महिना हो । हालसम्म २१ महिनाको अवधिमा आयोजनाको काम २८ प्रतिशत मात्रै पूरा भएको जनाइएको छ । यसमध्ये पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जनायो ।

यसैबीच वर्षाका कारण र बनेपा बजार क्षेत्रको केही स्थानमा अवरोधका कारण निर्माण रोकिएको छ । आयोजनाका अनुसार हालसम्म १२ दशमलब ०५ किलोमिटर टेवा पर्खाल निर्माण गरिएको छ भने २९ मध्ये १९ कल्र्भट निर्माणको काम सकिएको छ । यस्तै १२ दशमलव ०८ किमी नाली निर्माण सकिएको छ । यस सडकखण्डमा आयोजनाको वित्तीय प्रगति ३० दशमलव ९१ प्रतिशत भएको छ ।

दुई लेन रहेको अरनिको राजमार्गको यस सडकखण्डलाई छ लेनका लागि विस्तारकार्य भइरहेको हो । सडक दायाँबाँया दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण हुनेछ ।
---

 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update