Kath khabar
काठमाडौं महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान


           काठमाडौं, भदौ १९ । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।

महानगरपालिका कार्यालय काठमाडौं प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुहुन्थ्यो ।  

पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के–४४ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।  
–––

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update