Kath khabar
‘मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा’

काठमाडौँ, २१ भदौ - प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ । 

    गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्यूब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेको र कारबाही गर्दै आएको उहाँले जानकारी दिनुभयो । “आफूलाई मिडियाको परिचय दिइ विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्”, बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो । 

    उहाँले योजनाबद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको परिचयपत्र खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको बताउनुभयो । 

    “युट्यूब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौँ भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ । त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ”, उहाँले भन्नुभयो । 

    प्रेस काउन्सिलले युट्यूब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई वर्गीकरण गरेको छ । बिनादर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ । पछिल्लो तीन महिनायता ४९ विभिन्न युट्यूब च्यानल काउन्सिलको कारबाहीमा परेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update