Kath khabar
पहिरोमा पुरिएका चलाउने दम्पतीको शव फेला
प्रतिकात्मक तस्विर


                 सुर्खेत, भदौ २३ । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ ।

गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो । मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको उहाँले बताउनुभयो ।

शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । “प्रेमकुमारी बारेकोट गाउँपालिका–६ की वडा सदस्य हुनुहुन्छ भने मानबहादुर नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटीका सदस्य हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।
---

 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update