Kath khabar
सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ


                  काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सिराहा घर भएकी राम दुलारी भन्ने महिलाको हत्यामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय राम बिनय महरा र काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने सर्लाही बसगरिया गाउँपालिका–५ घर भएका २४ वर्षीय सन्तोष राम महरा रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले ती महिलालाई ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update