Kath khabar
गणेश महोत्सव आज समापन गरिँदै


                  काठमाडौं, भदौ २४  । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका रुपमा वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीले विशेष पूजाआर्चना गरी मनाउने गर्दछन् ।

समितिले बत्तीसपुतलीमा गणेशका मूर्ति स्थापना गरेर शनिबारदेखि तीन दिनसम्म विशेष पूजाआराधनासहित महोत्सव मनाएको समितिका अध्यक्ष मुकेश साहले बताउनुभयो ।

महोत्सवमा पूजा गर्न भक्तजनको घुइँचो लागेको थियो । गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पूरा हुने जनविश्वासअनुसार अधिकांश भक्तजन लड्डु बोकेर महोत्सवमा पुगेका अध्यक्ष साहले जानकारी दिनुभयो ।

कुनै पनि धार्मिक कार्य सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । तीनदिनसम्म भक्तजनले गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बसेका थिए । कुनै कार्य थालनी गर्नुअघि विघ्नबाधा उत्पन्न नहोस् भनेर हिन्दू धर्मसंस्कारमा भगवान् श्री गणेशको आराधना र स्मरण गर्ने प्रचलन रहेको छ ।

हिन्दू वैदिक विधिअनुसार स्थापना गरिएको गणेशका मूर्तिलाई आज साँझ गौरीघाट नजिक बागमती नदीमा लगेर विसर्जन गरिने अध्यक्ष साहले बताउनुभयो । मूर्ति विसर्जनका बेला भक्तजनले ठूलो लस्कर निकाल्ने तयारी गरेका उहाँले जानकारी दिनुभयो ।
---

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update