Kath khabar
मनकामना केबुलकार अब डिजिटल डी-कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने


                   काठमाडौं, भदौ २५ । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रसिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।

अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरीवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।  गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गते मंगलबारदेखि पुनः सुचारु हुनेछ ।

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो । मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । मनकामना दर्शन प्रालि पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा नेपाल सरकारबाट पटकपटक सम्मानित भएको छ ।

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।  

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरुप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठ बताउनुहुन्छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update