Kath khabar
कहिल्यै उड्ने छैन एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमान


                      काठमाडौं, भदौ २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार उत्सव मनाउनेगरी सजधज तय गरिएको थियो । नेपाली आकाशमा १६ वर्ष उडान भरेको बुद्ध एयरको एटिआर–४२ ‘नाइनएन–एआइएन’ कलसाइन विमानको बिदाइ समारोह भव्य तुल्याइएको थियो ।

उक्त विमानलाई औपचारिक बिदाइ गर्ने वातावरण निकै भावुक पनि थियो । आफ्नो व्यावसायिक उडानमा रहेको विमानलाई बिदा गर्ने क्षणमा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत भावुक थिए । बुद्ध एयरका कर्मचारी परिवार मात्रै हैन उपस्थित सरोकारवाला र सञ्चारकर्मी पनि भावुक भएका थिए । लामो समय यात्रुलाई सेवा दिएको विमान बिदाइ गर्दा भावुक माहोल सिर्जना हुनु स्वाभाविक पनि हो ।
     
“आजको समारोह विश्वव्यापी रूपमा एटिआर विमान सञ्चालनको इतिहासमा कोसेढुङ्गा हो । हामीले ७० हजार साइकलको पूर्ण आर्थिक जीवन र त्यो पनि व्यावसायिक यात्रु सञ्चालनमार्फत प्रतिस्पर्धा गर्ने पहिलो एटिआरलाई बिदाइ गर्दैछौँ । साच्चै यो ऐतिहासिक क्षण हो”, अध्यक्ष बस्नेतले भन्नुभयो । उहाँले आगामी दिनमा नेपाल र नेपालीका लागि उत्कृष्ट उड्डयन सेवा प्रदान गर्न प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रको भन्दा कम नरहेको दाबी गर्नुभयो । “सन् २००८ मा दुई वटा एटिआर–४२ विमान भित्र्याएर उडानको फड्को मारौँ अब, यो विमान इतिहास बनेको छ । बाँकी १८ एटिआर विमानले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउछौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो ।
     
उडान अवधिमा ७० हजार उडान अवतरण (साइकल) गरेको एटिआर–४२  विमानलाई पहिलो पटक आज बिदाइ गरिएको हो । एटिआरको इतिहासमा यो नै पहिलो बिदाइ कार्यक्रम भएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बनाउनुभयो । कूल ४५ सिट क्षमताको एटिआर विमानले १६ वर्षमा ४४ हजार चार सय ७७ उडानमार्फत एक दशमलव आठ मिलियन यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।
     
बुद्ध एयरको टेक्निकल डिपार्टका निर्देेशक मंगेश थापाले एटिआर कम्पनीको मापदण्डअनुरुप विमानले निश्चित साइकल पूरा गरिसकेपछि उडानबाट ‘रिटायर्ड’ हुने भएकाले विमानलाई उडानबाट बिदाइ गरिएको बताउनुभयो । “अन्य सिरिजका जहाजले ७० हजार साइकल पूरा गरेपछि पनि उडानमा ल्याएका हुन्छन् तर एटिआरको मापदण्ड नै ७० हजार साइकल भएकाले यसलाई उडानबाट बिदा गरिएको हो”, उहाँले भन्नुभयो । उहाँले उडानबाट बिदाइ भएको विमानको बाहिरी भाग नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाइने र विमानभित्रका पार्टपुर्जा अन्य जहाजको मर्मतमा प्रयोग गरिने जानकारी दिनुभयो ।

पहिलो पटक एटिआर विमानको बिदाइ
बुद्ध एयरको एटिआर–४२ विमान बिदाइ कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोराले सम्मान दिएर उक्त विमानलाई बिदाइ गरिएको छ । एउटै विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको एटिआर विमानले अब कहिल्यै उडान भर्ने छैन ।
     
बुद्ध एयरले सन् २००८ भित्र्याएको ४७ सिट क्षमताको ‘नाइन नोभेम्बर–अल्फा इन्डिया नोभेम्बर’ रजिस्ट्रेसन भएको उक्त एटिआर विमानलाई अब कहिल्यै नउडाउनेगरी बिदा गरेको हो । कम्पनीसँग ४७ सिटका एटिआर–४२ तीन र ७० सिट क्षमताका १५ वटा एटिआर विमान छन् ।
    
विमानको उमेर उसको उडान अवतरण सङ्ख्याले निर्धारण गर्ने विज्ञहरू बताउँछन् । “विमानको उमेर अवधि साता, दिन, वर्षका आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित सङ्ख्यापछि मर्मतसम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ”, निर्देशक थापाले भन्नुभयो । उहाँका अनुसार विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाइँदैन । यसपछि विमानलाई बिदाइ गर्नैपर्ने हुन्छ । बुद्ध एयरले १८ वटा एटिआर विमान भित्रयाइसकेको छ ।

बुद्ध एयर एटिआर सञ्चालन गर्ने संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी रहेको जनाइएको छ । एटिआरले अहिलेसम्म करिब २५ हजार विमान निर्माण गरिसकेको बताइन्छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पारगरी यसरी बिदाइ गरिएको संसारमै पहिलो पटक हो । यसैगरी एटिआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको विमानको गुणस्तरीय उडान सेवा र दक्ष जनशक्तिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।
     
विमानस्थलका महाप्रबन्धक रिञ्जी शेर्पाले बुद्ध एयरले सुरक्षित उडानमा गरिरहेको अभ्यासको सराहना गर्दै आगामी दिनमा यात्रुको सेवा सुरक्षालाई थप बलियो बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूतावास एल्सा काली, एटिआर कम्पनीका प्रतिनिधि पवन तनवानीलगायत विभिन्न बैंकका सिइओहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update