Kath khabar
बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, चारजना घाइते


                बैतडी, भदौ २६ । बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेकी छन् ।

सविनाको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो । जिल्लाको सुर्नया गाउँपालिका–८ ढुङ्गाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१००ज १३५४ नंको जिप मङ्गलबार दुर्घटनामा परेको थियो ।

कच्ची सडकमा जिप दुर्घटना हुँदा चालक सुर्नया–७ का लालबहादुर कुँवरसहित पाँचजना घाइते भएका थिए । घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी ‘रेफर’ गरिएको थियो ।

दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर गइसकेका छन् । चालक लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update