Kath khabar
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ, झगडा छुट्याउने क्रममा छोरी घाइते


                 बारा, भदौ २६ । आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या गरेको अभियोगमा निजगढ नगरपालिका–९ भमरा टोल बस्ने ४५ वर्षीय बिमल कुमार बस्नेतलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

बिमलले घरायसी विवादको क्रममा खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएकी लक्ष्मीको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ हुँदै नेशनल मेडिकल कलेज वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै झगडा छुट्याउने क्रममा घाइते भएकी उनकै छोरी १८ वर्षीया गंगा राईलाई थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल महारागंज काठमाडौं रिफर गरिएको छ भने उनकै छोरी १५ वर्षीया जमुना राइको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update