Kath khabar
मूर्ति बनाउन मूर्तिकारलाई भ्याइ नभ्याइ



                    इनरुवा, भदौ २७ । विश्वकर्मा पूजा आउन केही दिन बाँकी रहँदा यहाँ मूर्तिकारलाई विश्वकर्माको प्रतिमा बनाउन भ्याइ नभ्याइ छ । सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन भ्याइ नभ्याइ भएको हो ।

विशेष गरी कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ । त्यसैलाई लक्षित गरी यहाँ मूर्ति बनाउन थालिएको हो । विश्वकर्मा पूजा आउन छ दिन बाँकी रहँदा कारोबारमा समेत वृद्धि भएको छ ।

मूर्तिकार विनोद यादवले मूर्तिको माग बढेपछि यहाँका मूर्तिकारको कारोबार बढेको बताउनुभयो । “माग बढेपछि विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ । हाल मूर्ति किन्नेको भीड पनि त्यत्तिकै बढिरहेको छ”, उहाँले भन्नुभयो ।
सो दिन विश्वकर्माको विशेष पूजाआराधना गर्दै उत्सव मनाउने गरिएकाले इनरुवासहित जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा निकै चहलपहल बढेको मूर्तिकार मिथलेश झाले बताउनुभयो ।

मूर्तिकारले रु दुई हजारदेखि पाँच हजारसम्मको कलात्मक मूर्ति बनाएका मूर्तिकार राजकुमार यादवले जानकारी दिनुभयो । सुनसरीमा पाँच हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति निर्माण र खरिद बिक्री हुने गरेको छ । इनरुवामा मात्र पाँच ठाउँमा मूर्ति निर्माण गरेर बिक्री भइरहेका छन् । मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताएका छन् । (रासस)

---

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update