Kath khabar
प्रिन्स विलियमद्वारा भाइ ह्यारीलाई जन्मदिनको शुभकामना


                लन्डन, भदौ ३० । बेलायतका प्रिन्स विलियमले आफूबाट अलग भएका भाइ ह्यारीलाई जन्मदिनको शुभकामना दिनुभएको छ । राजा चार्ल्स तृतीयका कान्छा छोरा ह्यारी आइतबार ४० वर्ष पुग्नुभएको छ ।

ह्यारी र उहाँकी श्रीमती मेघन मार्कलले शाही जीवन त्यागेर सन् २०२० मा क्यालिफोर्निया गएपछि उहाँको परिवारसँगको सम्बन्ध अझ बिग्रिएको छ ।

सन् १९९७ मा आमा राजकुमारी डायनाको मृत्यु भएपछि विलियम र ह्यारी एकअर्काका नजिक हुनुहुन्थ्यो । तर बेलायती सञ्चारमाध्यमका अनुसार उहाँहरूले दुई वर्षदेखि एकआपसमा कुराकानी गर्नुभएको छैन ।

विलियम र उहाँकी श्रीमती क्याथरिनको आधिकारिक एक्स अकाउन्टमा ह्यारीको शाही उपाधिलाई उल्लेख गर्दै गरिएको पोस्टमा भनिएको छ, “ड्युक अफ ससेक्सलाई ४०औँ जन्मदिनको शुभकामना ।”

यसले शाही परिवारको एक्स अकाउन्टमा लेखिएको पहिलेको सन्देशलाई साझा गरेको छ । शाही परिवारको यसअघिको सन्देशमा लेखिएको छ, “ड्युक अफ ससेक्सलाई ४०औँ जन्मदिनको शुभकामना ।”

उक्त पोस्टका साथमा मुस्कुराएको ह्यारीको फोटो र जन्मदिनको केकको इमोजी पनि थियो ।

बेलायती सञ्चारमाध्यमका अनुसार सन् २०२१ पछि ह्यारीका लागि शाही परिवारको अकाउन्टबाट पोस्ट गरिएको यो पहिलो सार्वजनिक जन्मदिन सन्देश हो ।

दुई सन्तानका पिता ह्यारीले शुक्रबार आफ्नो तनावपूर्ण पारिवारिक सम्बन्धका बावजुद ‘४० वर्षको उमेरलाई लिएर उत्साहित’ भएको बताउनुभयो ।

“म ३० वर्षको उमेरलाई लिएर चिन्तित थिएँ, म ४० वर्षको उमेरलाई लिएर उत्साहित छु”, उहाँले बिबिसीलाई भन्नुभयो । उहाँले पिता बन्नुले आफूलाई ‘जीवनको नयाँ दृष्टिकोण’ प्राप्त भएको बताउनुभयो ।

“पिता हुनु जीवनको सबैभन्दा ठूलो आनन्द हो र यसले मलाई यो संसारलाई राम्रो स्थान बनाउन र थप प्रेरित र प्रतिबद्ध बनाएको छ”, उहाँले भन्नुभयो ।

विलियम र ह्यारीलाई सन् २०२२ सेप्टेम्बरमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारमा एक साथ देखिएको थियो । तर गत वर्ष आफ्ना पिताको राज्याभिषेकसहित पछिका कार्यक्रमहरूमा उहाँहरूले स्पष्ट रूपमा दूरी बनाउनुभएको थियो ।

सन् २०२३ जनवरीमा प्रकाशित ह्यारीको आत्मकथा ‘स्पेयर’ मा विलियमलाई उहाँको ‘प्रिय दाइ’ भनिए पनि उहाँको ‘प्रमुख प्रतिद्वन्द्वी’ पनि बताइएको छ ।

शाही विज्ञहरूले निकट भविष्यमा उहाँहरूबीच कुनै मिलाप हुने अवस्था नदेखिएको बताएका छन् ।
–––

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update