Kath khabar
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय


                        भक्तपुर, भदौ ३१  । महिला कार्यालय प्रमुखले सञ्चालन गरेको कार्यालय सेवाग्राहीमैत्री र उत्कृष्ट हुन्छ भन्ने नमूना भक्तपुरले देखाएको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न सरकारी कार्यालयमा प्रमुखका रुपमा कार्यरत यहाँका १० जना कार्यालय प्रमुखले यतिखेर भक्तपुरका सेवाग्राहीको कुनै गुनासो नआउने गरी कार्य सम्पादन गरेर नमूना प्रस्तुत गरेका हुन् ।

भक्तपुरको शान्तिसुरक्षादेखि शिक्षा, स्वास्थ्यलगायत विभिन्न ११ सरकारी कार्यालयको नेतृत्व सम्हाल्दै आएका महिला कार्यालय प्रमुखहरुको जनमुखी र विवादरहित उत्कृष्ट कार्यले अवसर पाउँदा महिलाहरुले जनताको मन जित्ने गरी काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले शनिबारबाहेक सार्वजनिक बिदामा समेत कार्यालयमा आफैँ उपस्थित भएर सेवाग्राहीलाई सुेवा र सुविधा दिँदै जिल्लाको शान्तिसुरक्षा व्यवस्थासेत कायम गर्न सफल भएको भन्दै राजनीतिक वृत्तमा समेत उच्च प्रशंसा हुने गरेको छ । भक्तपुरको प्रमुख मानिने बिस्केट जात्रा यस वर्ष शान्तिपूर्ण, झैझगडारहित र ज्यान नगई जात्रा सम्पन्न भएपछि प्रजिअ श्रेष्ठले जिल्लामा उच्च प्रशंसा बटुल्नुभएको थियो ।  

प्रजिअलाई भेट्न जनतालाई निकै गाह्रो महसुस भइरहँदा यहाँका जनताले २०८० भदौदेखि भक्तपुरको प्रजिअको जिम्मेवारी सम्हाल्दै आउनुभएकी श्रेष्ठले आमनागरिकको समस्या समाधानका लागि सिधै आफूले नागरिकसँग सहज रुपमा भेटेर गुनासो सुन्ने र समस्या समाधान गर्न थालेपछि धेरैमा न्यायको आशा पलाएको छ ।

सिधै प्रजिअको कक्षमा महिलाहरु समस्या लिएर जाने मात्रै होइन, जिल्ला बाहिरका समस्या सम्बन्धित जिल्लाका प्रजिअहरुसँग समन्वय गर्दै समस्या समाधान गर्ने गरेपछि महिलाहरुको मन जित्न सफल हुनुभएको गैरसरकारी संस्था महासङ्घ भक्तपरकी अध्यक्ष अनिता पाण्डेले बताउनुयो । सार्वजनिक बिदामा आफैँ कार्यालयमा उपस्थित भएर दिएको सेवादेखि यस वर्षको बाढीपीडितको उद्धारदेखि राहतको व्यवस्थामा आफैँ खटिएर जनप्रेमी नमूना प्रस्तुत गर्नुभएको उहाँले बताउनुभयो । त्यसो त यसअघि पनि भक्तपुरको प्रजिअ सम्हाल्नुभएका रुद्रादेवी शर्मा र हुमकला पाण्डेले पनि उत्कृष्ट कार्यको चर्चा पाउनुभएको थियो ।

प्रजिअ श्रेष्ठ भन्नुहुन्छ, “भक्तपरमा जनताको गुनासो आउन नदिने गरी काम गरिरहेका छौँ, हामी जिल्लाका विभिन्न कार्यालयमा महिला कार्यालय प्रमुखहरुले पनि सोहीअनुसार काम गर्नुभएको छ । सरकारी कार्यालयहरुलाई जनता दुःख नदिने र आजको काम आजै सक्नेगरी काम गर्न कार्यालय प्रमुखको बैठकहरुमा निर्देश गरेकी छु । अहिले हामी सबै मिलेर भक्तपुरलाई उत्कृष्ट बनाएका छौँ ।”

भक्तपुरमा अर्को उत्कृष्ट काम गर्ने महिला कार्यालय प्रमुखको चर्चा अहिले देशव्यापी छ । उहाँ हुनुहुन्छ भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतम । उहाँले वर्षौंदेखि जीर्ण र ‘रिफर सेन्टर’का रुपमा परिणत हँुदा जनताबाट विश्वास गुमाउँदै गएको भक्तपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पतालका रुपमा पहिचान बनाउन मात्रै सफल हुनुभएन, उहाँकै पालामा दुईपटक उकृष्ट अस्पतालको पुरस्कार दिलाउन सफल हुनुभएको छ ।

कोरोना महामारीको बेलामा पहिलोपटक भक्तपुर अस्पतालको जिम्मेवारी सम्हाल्न आउनुभएकी डा गौतमले यहाँको व्यवस्थापनलाई चुस्त बनाउने, शय्या थप्ने, अक्सिजन प्लान्टको स्थापना गर्ने, चौबिसै घण्टा शल्यक्रिया गर्ने, पिसिआर परीक्षणदेखि कोरोना महामारीमा बिरामीको उपचारमा तल्लीन रहने, पहिलो पटक आइसियू, एनआइसियू, भेन्टिलेटरको व्यवस्था गर्दै आफैँ पटकपटक कोरोना सङ्क्रमित हुँदा पनि अस्पतालको सेवामा खटिएर सङ्कटकालमै अस्पताललाई नमूना बनाएपछि उहाँको चर्चा चुलिएको थियो ।

हाल तेस्रोपटक भक्तपुर अस्पताल प्रमुखका रुपमा कार्यरत डा गौतमले अस्पताललाई तीन सय शय्यामा विस्तार गर्ने, सेवाहरु विस्तार गर्ने, निजी अस्पतालहरुसँगको मिलेमतोलाई अन्त्य गर्ने, औषधि खरिद गोप्य बोलपत्रमा खरिद गर्ने, कर्मचारी नियुक्त परीक्षा प्रणालीबाट गर्ने र बिरामीको उपचारमा उत्कष्टता कायम गर्दा यस वर्ष यो अस्पतालले कार्य मूल्याङ्कनमा ९८ प्रतिशत नम्बर प्राप्त गरी उत्कृष्ट अस्पतालको पुरस्कार दिलाउन सफल हुनुभएको छ ।

अहिले भक्तपुर अस्पताल उत्कृष्ट नमूनाका रुपमा सञ्चालनमा आइरहँदा यहाँका सबै राजनीतिक दलका नेतादेखि बिरामीहरुसमेतले उच्च प्रशंसा गर्नाका साथै उपचारका लागि महङ्गो अस्पतालमा धाउनुपर्ने अवस्थामा निकै कमी आएको छ । आफ्ना जागिरे जीवनमा महिला भएकै कारण आइपरेका कठिनाइ र चुनौतीहरुका बारेमा भावुक हुँदै अस्पतालकी निर्देशक डा गौतम, यो महिला त हो नि यसले के गर्न सक्छे र ? भनेर बेइमान गर्न खोज्नेहरुलाई आफू विचलित नभई आफूले इमान्दारीपूर्वक साथ काम गरेर सफल होइन्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यहाँका बेथिति अन्त्य गरेर कानुनी रुपमा अस्पतालको व्यवस्थापनसँगै भ्रष्टाचारको अन्त्य गर्न खोज्दा आएको धम्की, औषधिका माफियाहरुबाट आएका सरुवाका धम्की, विभिन्न निकायबाट आउने अवरोधको सामना गर्न सक्ने सामथ्र्य राखेर निडर भएर काम गर्दा महिला होस् या पुरुष आफ्नो कार्य क्षेत्रमा सफल हुन सक्छ भन्ने नमूना भक्तपुरले देखाएको छ ।” स्मारक संरक्षण दरबार हेरचाह कार्यालय भक्तपुरको पटकपटक प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएकी प्रमुख अरुणा नकर्मीले जिल्लाभरिका सम्पदाको राम्रो ज्ञान मात्र होइन, इतिहास र संरक्षणको पाटो खेल्नुभएको भूमिका प्रशंसनीय रहेको यहाँका इतिहासविद्हरु बताउँछन् ।

भक्तपुरको ऐतिहासिक चाँगुनारायण मन्दिरको जीर्णोद्धारपछि भएको रङ्गरोगन गलत भयो भन्दै त्यसलाई रोक्न खोज्नुभएकी प्रमुख नकर्मीले दकर्मीले जिल्लाभरिको सम्पदाको संरक्षण, व्यक्तिले मिचेका सम्पदाको संरक्षणमा निरन्तर लाग्नुभएको छ । उहाँले स्थानीयता र भाषाका कारणले पनि काम गर्न सहज हुने गरेको बताउँदै भक्तपुरमा लामो समयदेखि रोकिएको ५५ झ्याले दरबारको जीर्णोद्धारलगायत ऐतिहासिक सम्पदाहरुको पुनःनिर्माणमा भूमिका निर्वाह गर्न पाउँदा खुसी र सन्तोष लाग्ने गरेको बताउनुभयो ।

भक्तपुरको शिक्षा विकास तथा समन्वय इकाइकी प्रमुख कमला ज्ञवाली शिक्षाको विकासमा आफू आएसँगै भक्तपुरका चारवटा स्थानीय तहसँग समन्वय गरी उत्कृष्ट र विवादरहित रुपमा कार्य गर्दै आएको बताउनुहुन्छ । उहाँले पाठ्यक्रमका आधारमा पठनपाठन नहुँदा शिक्षाको नतिजा कमजोर भएको बताउँदै अभिभावकलाई शिक्षा के हो भन्ने विषयमा अभिमुखीकरण गरी शिक्षाको बारेमा जानकारी दिने प्रयास गरिएको बताउनुभयो । मुस्कानसहितको सेवा विस्तार गरिएको र विगत लामो समयदेखि समस्याका रुपमा रहेको शिक्षकहरुको हाजिरी प्रमाणीकरणलाई समाधान गरिएको उहाँ बताउनुभयो ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख सीता साम्बा हुलाकलाई नयाँ ढङ्गले अगाडि बढाउन प्रयास गरिरहेको बताउँदै हुलाक सेवाको पुरानो पहिचान फिर्ता ल्याउने प्रयासमा निरन्तर कार्य गरिरहेको बताउनुहुन्छ । उहाँले निजी क्षेत्रमा गैरकानुनी रुपमा सञ्चालन भइरहेका कुरिएर सेवालाई रोकेर हुलाक मातहत ल्याउन र सरकारी कार्यालयका अन्य कामहरु हुलाकले गर्नेगरी योजना बनाएर अगाडि बढाउनुभएको छ । चार वर्षदेखि भक्तपुरमा नेतृत्व सम्हाल्दै सफलतापूर्वक कार्य सम्पादन गर्दै आउनुभएकी गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले तीनवटा बिस्केट जात्रादेखि यहाँका विभिन्न जात्रा, पर्व परम्परा र गठी जग्गाको व्यवस्थापनमा चुनौतीपूर्वक कार्यसम्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

व्यावसायिक ग्रेनेज केन्द्रको निमित्त प्रमुख सुलोचना श्रेष्ठले महिलालाई घर गृहस्थी र कार्यालय एकैपटक सम्हाल्नुपर्ने अवस्था र चुनौतीका बीच पनि सफलतापूर्वक कार्यसम्पादन गर्दै आएको बताउनुभयो । भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख मेलिना चित्रकारले औद्योगिक क्षेत्रको सुधारका साथै स्थानीयसँग समन्वय गरेर समस्या समाधानमा अग्रसरता लिएका कारण कार्य गर्न सहज भएको बताउनुभयो ।

राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख जयन्ती श्रेष्ठ प्रधान, जनस्वास्थ्य कार्यालयकी अस्मिता ओझा र प्रहरी वृत्त जगातीमा प्रहरी नायब उपरीक्षक दिप्ती कार्कीले पनि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दा धेरै सचेत र सजग हुने, कतै कमीकमजोरी रहन नदिन, कसैको दबाब र प्रभावमा नपर्ने र आफू कार्यालय प्रमुख रहेसम्म कुनै कमीकमजोरी नगर्ने गरी काम गर्दाको परिणाम नै भक्तपुरको महिला कार्यालय प्रमुखहरुको उदाहरण र प्रशंसा हुने गरेको उहाँहरु बताउनुहुन्छ ।

जिल्लाका कार्यालय प्रमुखहरुले आफूहरुले महिला भएकै कारण कतिपय काम सहज ढङ्गले सम्पन्न गर्ने वातावरण बने पनि कतिपय अवस्थामा कडा चुनौती र दबाब झेल्नु परेको, कार्यस्थलमै होच्याउने शब्द प्रयोग भएको सुनिए पनि कार्यालयमा सबै महिला तथा पुरुष कर्मचारीको सहयोगमा नमूना र उत्कृष्ट कार्य सम्पादन गर्न सफल भएको उहाँहरुको भनाइ छ । महिलाहरुलाई अझ समाजको साथ सहयोगको खाँचो रहेको र त्यस्तो साथ सहयोग पाएको अवस्थामा अझ उत्कृष्ट नतिजा दिनसक्ने विश्वास उहाँहरु व्यक्त गर्नुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले महिलाहरुले पनि उत्कृष्ट सेवा प्रवाह गर्न सक्छन् र सेवाग्रहीलाई सन्तुष्टि दिनाका साथै राज्यको नीति निर्देशनअनुसार उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने उदाहरण अहिले भक्तपुर देखाएको बताउनुहुन्छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले महिलाले कुर्सीमा बसेर परिणाम दिलाएपछि मात्र विश्वास गर्ने परिपाटी अझै रहेको भन्दै महिलाहरुले कार्यालयमा झेल्नुपर्ने समस्या पुरुषहरुमा त्यति धेरै नआउने बताउनुहुन्छ । उहाँले आफू सहायक जिल्ला प्रमुख भएर काम गरिरहँदा यहाँका कार्यालय प्रमुखहरुको काम र कामप्रतिको विश्वास देख्दा यहाँ महिला पुरुष भनेर कहीँ कतै विभेद् गर्न नहुने बताउनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update