काठमाडौं, भदौ ३१ । विभागीय टोली नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपमा श्रीलङ्का एयर फोर्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्सको राजधानी मालेमा आज भएको खेलमा पुलिसले श्रीलङ्का एयर फोर्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो । पुलिसले श्रीलङ्का एयर फोर्समाथि पहिलो सेट २५-१६ ले जित्यो भने खेलको दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्यो । त्यसैगरी, खेलको तेस्रो तथा अन्तिम सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो । यसअघि हिजो भएको पहिलो खेलमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
उक्त प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा पुलिसले भोेलि ताजकिस्तानको भिसी डाइमेडसँग प्रतिस्पर्धा गर्नेछ । गत चैतमा भएको महिला भलिबल लिगमा एभरेस्ट भलिबल क्लबलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो । पुलिस लिग विजेताको हैसियतामा काभा महिला क्लब च्याम्पियनसिपमा खेल्न माल्दिभ्स पुगेको हो ।
---