Kath khabar
हेजबुल्लाहका सदस्यले प्रयोग गर्ने  'पेजर' विस्फोट हुँदा नौ जनाको मृत्यु, दुई हजार ८०० घाइते


                  लेबनान, असोज २ । लेबनानमा इरान समर्थित लडाकु समूह हेजबुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू  विस्फोट हुँदा एक बालकसहित कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै २ हजार ८०० जना घाइते भएका छन् ।  

उक्त विस्फोटबाट  क्षती बेहोरेको आतङ्कवादी समूहले इजरायललाई आक्रमणको दोषी ठहराएको छ । इजरायली आक्रमणमा प्रमुख कमाण्डर गुमाएपछि हेजबुल्लाहले आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्ता व्यक्त गरेको थियो ।

मङ्गलबार दिउँसो तीन बजे हेजबुल्लाह सदस्यहरूले बोकेका सयौं पेजिङ सञ्चार उपकरणहरू लेबनानमा विस्फोट हुन थालेका थिए । हेजबुल्लाहले घटनालगतै  इजरायलाई दोष लगाएता पनि इजरायलले भने आक्रमणको बारेमा अहिलेसम्म कुनै टिप्पणी जारी गरेको छैन ।

लेबनानका केही अस्पतालहरूमा हताहतको सङ्ख्या बढेको स्रोतले जनाएको छ । इजरायलले लेबनानसँगको उत्तरी मोर्चालाई सुरक्षित गर्न प्यालेस्टिनी उग्रवादी समूह हमाससँगको युद्धमा आफ्नो लक्ष्य विस्तार गरिरहेको मङ्लबार घोषणा गरेको थियो ।

अक्टोबरको आक्रमणपछि इजरायलले प्यालेस्टिनी उग्रवादीले लिएका बन्धकलाई घर ल्याउने र हमासलाई दमन गर्ने वाचा गरेको थियो ।   अक्टोबरदेखि हेजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरेको छ ।

औपचारिक रूपमा युद्धको घोषणा नगरिएता पनि लेबनान मोर्चामा भएको झडपले अधिकाशं लडाकु र सैन्य कर्मचारी सहित सयौंको ज्यान लिएको लिएको छ ।  हेजबुल्लाहको नजिकको स्रोतका अनुसार विस्फोट भएका पेजरहरू हेजबुल्लाहले भर्खरै आयात गरेको थियो ।
–––

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update