Kath khabar
मुभी लभर्स कम्युनिटी’ले 'आँखा' को विशेष प्रदर्शन गर्ने


                    काठमाडौं, असोज ३ । सामाजिक सञ्जालमा चर्चित ’मुभी लभर्स ग्रुप’ले असोज ८ गते चलचित्र 'आँखा'को विशेष प्रदर्शन गर्ने भएको छ । जौन योञ्जनको निर्माण र निर्देशनमा बनेको 'आँखा'ले सहरी गरिब र सुकुम्बासीको कथा बोकेको छ । पोस्टर र टिजर सार्वजनिक भएसँगै 'आँखा'ले दर्शकको ध्यान तानेको थियो ।

स्थापनाको दशौँ वार्षिकोत्सवको अवसर पारेर ’मुभी लभर्स कम्युनिटी’ले यो चलचित्र विशेष प्रदर्शन गर्न लागेको हो । मूलधारभन्दा फरक चलचित्रलाई आम दर्शकसामु पुर्‍याउन र त्यसमा बहस गर्न विशेष प्रदर्शन गर्न थालिएको कम्युनिटीले जनाएको छ । “राम्रा नेपाली फिल्मलाई माया गरौँ भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौँ,“ कम्युनिटीले आफ्नो पोस्टमा भनेको छ, “हाम्रो दशौँ वार्षिकोत्सवलाई 'आँखा'सँगै मिलेर मनाउँदै छौँ । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।“

'आँखा' मा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, निशा अधिकारीलगायत कलाकारको मुख्य भूमिका छ । “मानवता, सामाजिक दबाब, नैतिकता र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन्,“ निर्देशक योन्जन भन्छन्, “यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको दुःख र बाँच्नका लागि मानिसहरूले गर्ने सङ्घर्षको मार्मिक दृष्टिकोण हो ।“ दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्साउन 'आँखा'को रमाइलो कथा तयार गरिएको उनी बताउँछन् ।

’मुभी लभर्स कम्युनिटी’ले केही वर्षदेखि फरक धारका चलचित्र विशेष प्रदर्शन र बहस गर्दै आएको छ । ’ऐना झ्यालको पुतली’, ’हल्कारा’, ’आचार्य’, ’डाकिनी’, ’म अलप हुन चाहन्छु’ लगायत चलचित्र र वृत्तचित्र प्रदर्शन गरिसकेको कम्युनिटीले नेपाली चलचित्रलाई सबै खाले दर्शकसम्म पु¥याउन सेतुको भूमिका खेल्दै आएको बताएको छ  ।यो चलचित्र असोज ८ गते मङ्गलवार बेलुकी ५ बजे सुनधारास्थित सिडीसी सिनेमामा प्रदर्शन हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update