Kath khabar
चर्चित धावक रोकायालाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान- २०८१’ प्रदान गरिने

 

                     काठमाडौं, असोज ७ । कागेश्वरी मनोहरा ९ काँडाघारीको उज्ज्वल तारा स्कुलले अल्ट्रा म्याराथन धावक हरि बहादुर रोकायालाई २५ हजार ५५५ रुपैयाँ राशि सहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८१’ प्रदान गर्ने निर्णय गरेको छ । जुम्लाका ५९ वर्षीय धावक रोकायाले म्याराथन दौडमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेकर्ड कायम गरि गिनिज बुकमा समेत आफ्नो नाम लेखाउन सफल भएका खेलाडी हुन् ।

उज्ज्वल तारा स्कुलले हरेक वर्ष आयोजना गर्दै आएको ‘ उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को आठौँ संस्करणको अवसरमा यही असोज १२ गते शनिबार धावक रोकायालाई सो सम्मान प्रदान गरिने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले बताइन् । विद्यालयले गत वर्ष अर्का चर्चित धावक बैकुण्ठ मानन्धरलाई सो सम्मान प्रदान गरेको थियो ।

यो वर्षदेखि कागेश्वरी मनोहरा नगरपालिकाले दौड प्रतियोगिताको आधा स्वामित्व लिएका कारण आठौँ संस्करणदेखि दौडको नाम ‘कागेश्वरी मनोहरा  उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ राखिएको छ ।

विगत ८ वर्षदेखि ५ किलोमिटर दुरीको दौड आयोजना गरिँदै आएको आठौँ संस्करणको दौड भने यही असोज १२ गते शनिबार आयोजना हुने र एक हजार जनाभन्दा बढीले भाग लिने दौडका संयोजक एवम् नेपाली सेनाका महासेनानी विष्णु कार्कीले बताए ।

संयोजक कार्कीका अनुसार प्रतियोगितामा खुल्लातर्फ १८ वर्षभन्दा माथिका उमेर समूहको महिला र पुरुषतर्फ गरि दुई विधा, अभिभावकतर्फ पुरुष र महिलाको गरि दुई विधा, युगल जोडीको एउटा विधा र ५५ वर्ष उमेर माथि समूहको पुरुष र महिलातर्फ २ विधा तथा छात्रा छात्राको समेत गरि यो वर्ष ९ वटा विधा रहने छ । दौडका बिजेताहरूलाई विधा अनुसार नगद, ट्रफी, पदक र प्रमाणपत्रको साथै अन्य पुरस्कार रहेको छ ।

महासेनानी कार्कीका अनुसार दौडमा सहभागी हुन प्रत्येक सहभागीले नाम दर्ता शुल्क वापत ३५० रुपैयाँ तिर्नुपर्ने र त्यसरी सङ्कलन भएको सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक ‘वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिनेछ ।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update