Kath khabar
झापामा भारी वर्षा, सम्भावित क्षतिबाट जोगिन स्थानीय प्रशासन तयारी अवस्थामा

 

                  झापा, असोज ११ । झापामा गए रातिदेखिको अविरल वर्षाले नदी तथा खोलामा पानीको जलसतह बढ्न थालेको छ । अत्यधिक वर्षा भएपछि स्थानीय प्रशासन सम्भावित क्षति हुनबाट बचाउन तयारी अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताउनुभयो ।

उहाँका अनुसार नदी, खोला किनार तथा डुबान हुने स्थानमा निगरानी तथा सतर्कता अपनाइएको छ । “पानी निरन्तर परिरहेको छ”, उहाँले भन्नुभयो, “कन्काई, विरिङ, रतुवा, मेचीलगायतका नदीमा पानीको सतह बढदै गएको छ ।”

वडादेखि पालिकासम्मका जनप्रतिनिधि नेतृत्वको विपत् प्रतिकार्य टोलीसमेत तयारी अवस्थामा रहेको सहायक प्रजिअ नेपालले बताउनुभयो ।

यसैबीच कचनकवल गाउँपालिका–२ स्थित अमरखुट्टा खोला तर्ने क्रममा आज दिउँसो प्र १–०२–००५ प ६९७८ नम्बर प्लेट भएको मोटरसाइकल खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ का रवीन भट्टराई भने सकुशल छन् ।

वर्षाले उडान अवरुद्ध
झापाको चन्द्रगढी विमानस्थलमा गए रातिदेखिको अविरल वर्षाका कारण हवाई उडान प्रभावित भएको छ । आज कुनै पनि उडान तथा अवतरण नभएको विमानस्थलका सूचना अधिकारी वीरेन्द्र भट्टराईले जानकारी दिनुभयो ।

आज दिउँसो केही समयका लागि विमानस्थल खुले पनि फेरि बन्द भएको उहाँले बताउनुभयो । विमानस्थल मौसम विभागका अनुसार पछिल्लो २४ घण्टामा विमानस्थलमा तीन सय दुई दशमलव ४ मिलिमिटर वर्षा भएको छ  ।
---

 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update