Kath khabar
अवरुद्ध हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-धरान चतरा सडक खुल्यो


                     बागमती, असोज १४ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौँ र हेटौँडा-धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा-सिन्धुली-धरान चतरा सडक आज बिहानबाट खुलेका छन् ।

यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा-भैसे-चित्लाङ-चन्द्रागिरि-काठमाडौँ जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका-५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका-८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।

दक्षिणकाली-छैमले-सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी-फाखेल-फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । दक्षिणकाली-छैमले-सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी-मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका-१ सिम्लाङमा पहिरोका कारण थानकोट-कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा-कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो । अवरुद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उहाँले बताउनुभयो । (रासस)
---

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update