Kath khabar
टि–ट्वान्टी सिरिज: नेपालद्वारा ओमान पराजित

 
                  काठमाडौं, असोज १७ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।

नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो ।

नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए । टस हारेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रनको योगदान दिए । ओपनर अनिल साह ११, आसिफ शेख १६, देव खनाल १८, दीपेन्द्रसिंह ऐरी एक, गुल्सान झा दुई र कुशल भुर्तेल ११ रनमा आउट भएका थिए ।
–––

 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update