Kath Khabar
वैकल्पिक ट्रयाक खोलेर मन्थली–काठमाडौँ आवतजावत

                मन्थली (रामेछाप), असोज १७ । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन बुधबार साँझबाट खुलेको छ ।

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको बाढीले किर्नेटार हाइड्रोपावर नजिक तामाकोशी नदीले कटान गरेको थियो । पाँच दिनपछि अस्थायी रूपमा किर्नेटारमा रहेको खिम्ती प्रोजेक्ट स्कुलको बीच भाग हुँदै नेपाली सेनाको क्याम्प क्षेत्रको भित्री भागबाट ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइएको हो । रामेछापको मन्थलीबाट दोलाखाको किर्नेटार–चरिकोट–मुडे हुँदै सिन्धुपाल्चोकको खाडीचौर हुँदै काठमाडौँ आवतजावत गर्ने गरिन्छ ।  

वर्षाका कारण सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध  थियो । सडक खुलाउन जिल्लाका सबै राजनीतिक दल, सङ्घीय र प्रदेशका पूर्व तथा वर्तमान सभा सदस्य, स्थानीय प्रशासन, स्थानीय तह, समाजसेवीलगायत सबैको पहल रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुुभयो ।

सडकमार्ग खुलेपछि दसैँका लागि जिल्ला भित्रिने मानिस र खाद्यान्नलगायत अन्य सामग्रीका लागि सहज भएको छ । यसअघि खुर्कोटको पुल निर्माण नहँुदा पनि रामेछापवासी यही बाटो भएर मन्थली–काठमाडाँै आवतजावत गर्थे । काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोटको पुल तरेर मन्थली जान एक सय २६ किमी पार गर्नुपथ्र्यो भने यस मार्गमार्फत यात्रा गर्दा मन्थली–काठमाडाँैका लागि दुई सय किलोमिटर यात्रा गर्नुपर्छ ।   
---

 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update