काठमाडौँ साउन ७। भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
आज सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उहाँले ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नुहुनेछ । भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा हुनुहुन्छ भने इरिना विश्व वरीयतामा नवौं स्थानमा हुनुहुन्छ । उक्त खेल साउन ९ गते हुनेछ । पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ ।
भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट हुनुभएको हो । उहाँले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जित्नुभएको थियो । उहाँ महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाउनुभएको थियो। डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।
(रासस)