Kath khabar
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

                       काठमाडौं, असोज ३० ।  आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।  यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज  दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।

महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका नागरिक मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएर मङ्गलबारदेखि सरकारी कार्यालय खुलेका छन् । टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहने शास्त्रीय व्यवस्था रहेको छ ।

यस वर्ष आज अखिल बलिपूर्ति र कोजाग्रत पूर्णिमा तथा  कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरिन्छ । कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ समापन हुन्छ ।

आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत पूर्णिमा व्रत गरिँदै
नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन थालिएकोे समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी बताउनुहुन्छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एउटा रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ । (RSS)
–––

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update