Kath khabar
'पठाओ कार रेन्टल' सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

                      काठमाडौं, कात्तिक ५ । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा 'पठाओ कार रेन्टल' सुरू गरेको छ ।  यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् ।

हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत  मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले जानकारी दिइन् । रेन्टल सेवा लिनका लागि ग्राहकले कम्तीमा एक घण्टा अघि नै बुक गर्नुपर्ने र बढीमा ७ दिन अगाडि बुक गर्न सक्नेछन् । यसले यात्रुहरूलाई लामो दुरीको यात्रा या घुमघामका लागि सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस रेन्टल सेवामा ग्राहकहरूले नेपालका सबै सहरका लागि ’राउण्ड ट्रिप’ वा ’ड्रप’को सेवा बुक गरेर एउटै कार र चालकको साथ यात्रा गर्न सक्नेछन् । जसले ग्राहकका लागि यात्रा सहज बनाउने र चालकका लागि पनि थप कमाइको अवसर सिर्जना गर्ने हमालले बताइन् । पठाओका अन्य सेवामा जस्तै रेन्टलको यात्रामा पनि बीमा व्यवस्था गरिएको हमालले बताइन् । साथै रेन्टल सेवामा कुनै समस्या भएमा २४ सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुनेछ ।

पठाओको मोबाइल एपमार्फत सेवा बुकिङ गरी राइड एक्सेप्ट भएपछि प्रयोगकर्ताले एपमै यात्रा विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ । यो सेवा पठाओ नेपालको नारा ’मुभिङ नेपाल’कै आशयमा रहेको उनको भनाइ छ ।  

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update