भक्तपुर, कात्तिक ११ । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै माटोका भाँडा बनाउँदै आएका कुमाल समुदायलाई पाला बनाएर बिक्री गर्न भ्याइनभ्याइ भएको छ । तिहारमा माटोका भाँडा र पालाको माग धेरै भएकाले कुमाल समुदायका परिवारलाई यतिखेर पाला बनाउन भ्याइनभ्याइ भएको हो ।
आकर्षक माटोको भाँडा बनाउने भक्तपुर नगरपालिका–४ बोलाछेंँ तालाक्वो अर्थात् पोर्टरी स्क्वायरका प्रजापति समुदायका अधिकांश परिवार तिहारका लागि आवश्यक पाला, धुपौरो, घैँटोलगायत अन्य सामग्री बनाउन व्यस्त देखिन्छन् ।
“तिहार आइसक्यो माटोका पाला, भिउँट, धुपौरोको माग बढी आएको छ, तिहारमा सामान जसरी पनि दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ”, पुर्खाले वर्षौंदेखि गर्दै आएको पेसालाई १७ वर्षदेखि अँगाल्दै आउनुभएका स्थानीय ३९ वर्षीय विनोदकुमार प्रजापतिले भन्नुभयो ।
माटोका भाँडा बनाउने आधुनिक मेसिनले सहज बनाएको बताउँदै उहँले यस वर्ष एक लाख पाला बिक्री गर्ने योजना रहेको जानकारी दिनुभयो । पाला पूजामा प्रयोग हुने धुपौरो, घैँटोखुत्रुके, गमला बनाउन व्यस्त उहाँले यसवर्ष साना र ठूला दुवै प्रकारका पालाको माग आएको उल्लेख गर्नुभयो ।
माटोका भाँडा बनाउने पेसा गर्दै आएका ९९ प्रजापति परिवारको बसोबास रहेको यहाँ भूकम्प पछि कतिपयले भत्किएका घर छाडेर अन्यत्र बसाइँ सरेका छन् । अहिले करिब ४० घरमा यो समूदाय समिति भएको उहाँले जानकारी दिनुभयो ।
भारतबाट आउने प्लाष्टिक तथा विद्युतीय पालाले माटोको पालाको माग पहिलाको तुलनामा घटेको बताउँदै विनोदकुमारले भक्तपुरमा माटो पाउन छोडेपछि अहिले साँखुबाट ल्याउनु परेको बताउनुभयो ।
यतिबेला पोटरी स्क्वायरका ४० परिवारमा कोही माटोका भाडा बनाइ रहेका, कोही सुकाई रहेका, कोही आधुनिक भट्टीमा भाडा पोखिरहेका, कोही झिक्दै बाकसमा राख्दै गरेका देखिन्छन् ।
स्थानीय विवेक प्रजापतिले १६ वर्षदेखि पुर्खाको पेसालाई अँगाल्दै आएको बताउँदै तिहारका लागि माग बढी भएकाले फुर्सद नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बजारमा माटाका सामग्रीको माग बढी छ । मानिस जन्मेदेखि मृत्युसम्मका लागि आवश्यक पर्ने सम्पूर्ण माटाको भाँडा बनाउँछाैँ, यस वर्ष पनि तिहारका लागि एक लाख पालाको माग भएकाले सोही बनाउन व्यस्त छौँ ।”
यहाँ बनेका पाला र भाँडा भक्तपुरका साथै अन्य जिल्ला र विदेशमा समेत माग हुने गरेको विवेकले जानकारी दिनुभयो । “नेपालबाट मात्रै नभई विदेशका लागि पनि सामानको माग आउने गर्दछ”, उहाँले भन्नुभयो ।
सँगै माटोको भाँडा बनाइरहनुभएका साजन प्रजापतिले पछिल्ला केही वर्षयता भारतबाट आयातीत पाला र विद्युतीय बत्तीले माटोका सामग्रीको माग विगतको तुलनामा घटेको बताउनुभयो । बीस वर्षदेखि माटोको भाँडा बनाउँदै आउनुभएका उहाँले यस वर्ष आफूले पाला नबनाएर तिहारका लागि अन्य आवश्यक सामगी मात्र बनाएको सुनाउनुभयो ।
विगत ३५ वर्षदेखि पुर्खाको पेसालाई निरन्तरता दिँदै आउनुभएका रोशन प्रजापतिले बजारमा अहिले पहिलाको जस्तो माटोका भाँडा र पालाको माग नभएको गुनासो गर्नुभयो । उहाँले कोरोना महामारीदेखि व्यापार घटेको भन्दै आर्थिक मन्दीले यो पेसालाई निरन्तरता दिन समस्या भइरहेको उल्लेख गर्नुभयो । उहाँले यस वर्ष ६० हजार पालाको मात्रै माग आएको बताउनुभयो ।
यहाँ उत्पादन भएका पाला भक्तपुर, काठमाडौंँ, ललितपुर, काभ्रेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायत ठाउँबाट माग भएकाले माग अनुसार पठाउने गरिएको स्थानीय दयाराम प्रजापतिले बताउनुभयो ।
तीन वर्ष अघिसम्म तिहारमा एकसय पालाको रु ९० देखि रु एक सय १० सम्म बिक्री हुने भन्दै मेहनत, माटोको व्यवस्थापनलगायत कारणले ती सामग्रीको मूल्य पनि बढेको उहाँले जानकारी दिनुभयो । यसवर्ष व्यापारीलाई होलसेलमा प्रतिपाला रु दुईमा र खुद्रा रु चारमामा बिक्री गरिने उहाँले बताउनुभयो ।
विनोद प्रजापतिले माटो र काठको निकै अभाव छ, सरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुनेधारणा राख्नुभयो । यस वर्ष एउटा पाला होलसेलमा रु दुईमा र खुद्रा रु चारमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
“माटोको अभाव छ । भक्तपुरमा माटो पाउन छाडेको नौ वर्ष भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गर्छन्, त्यो पनि माग अनुसार आउँदैन, माटोको अभावले पेसा सङ्कटमा पर्ने अवस्थामा आएको छ । एक मिनिट्रक माटोको व्यापारीले रु १२ हजार लिन्छन्”, उहाँले भन्नुभयो ।
अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चालगायत सामानको माग बढेकाले बनाउन व्यस्त रहेको बताएका छन् । थोरै भाँडा बनाउनेले पनि तिहारमा बाहिरबाट पनि माग हुने भएकाले रु एक लाखभन्दा बढी आम्दानी हुने स्थानीय प्रजापति बताउँछन् ।